प्राकृतिक श्रोतहरूको सदुपयोग गर्नुपर्नेमा महासचिव पोखरेलको जोड

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आर्थिक विकास र समृद्धिका लागि प्राकृतिक श्रोतहरूको सदुपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।
सामुदायिक बन दिवस २०८१ का अवसरमा नेकपा एमालेको केन्द्रीय बन तथा वातावरण विभागले आज काठमाडौँमा गरेको कार्यक्रममा महासचिव पोखरेलले रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने गरी बन तथा अन्य प्राकृतिक श्रोतहरूको व्यवस्थापन र संरक्षण गर्न सके नेपालले छिट्टै आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो ।
महासचिव पोखरेलले बन क्षेत्रको संरक्षण र व्यवस्थापनलाई उत्पादनशील बनाउन नसक्दा बहुमूल्य बनपैदवारहरु जङ्गलमा त्यसै सडेर गएको र आगलागीका घटनाहरू समेत बढेर गएको उल्लेख गर्नुहुँदै बन व्यवस्थापन सम्बन्धी नीतिको पुनरावलोकन गरी वन क्षेत्रलाई उत्पादन मूलक बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समय बढ्दै गएको काठजन्य सामग्रीको आयातलाई प्रतिस्थापन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
रक्षामन्त्री मानवीर राईले बनजंगल जोगाउन नसके मानव अस्तित्व माथि नै संकट आउन सक्ने उल्लेख गर्नुहुँदै वातावरण संरक्षणका लागि नेपाल सरकारले रैथाने प्रजातिका वनस्पतिहरूको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
पूर्व बनमन्त्री एवं नेपाली काँग्रेसका नेता शङ्कर भण्डारीले नेपाल पक्ष राष्ट्र रहेका बन तथा प्राकृतिक श्रोतको प्रयोग सम्बन्धी कतिपय अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरूमा नेपालको अवस्था र आवश्यकता प्रतिकूलका प्रावधानहरू रहेका कारण बन क्षेत्रबाट नेपालले उचित लाभ लिन नसकेको उल्लेख गर्नुहुँदै त्यस्ता प्रावधानहरूलाई राष्ट्रिय हित अनुकूल हुनेगरी परिमार्जन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्