तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटनाप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई सीआरजे-७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको घटनाप्रति सभामुख घिमिरेले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

दुर्घटनामा परि दिवङ्गत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभामुख घिमिरेले उहाँहरूको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ । साथै दुर्घटनामा घाइते विमान चालकको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

सभामुख घिमिरेले दुर्घटनामा परेका यात्रुहरूको उद्धार कार्यमा घटनास्थलमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी, दमकल–एम्बुलेन्सका चालकसहित उद्धारकर्ताहरू तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

त्यसैगरी विमान दुर्घटनाको कारण पहिचान गर्ने, त्यसको तथ्य पत्ता लगाउँदै आगामी दिनमा मानवीय तथा यान्त्रिक कमी कमजोरी हुन नदिने साथै भविष्यमा दुर्घटना रोकथाम गर्न उच्च सजगता अपनाउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षणका लागि सभामुख घिमिरेले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button