पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने
तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ ।
मनसुन अवधिभरि कालोपत्रे तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्भर्ट र पर्खाल निर्माणलाई जोड दिइएको हो ।
असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्रे र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथमिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन् ।
“बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले क्षतिलाई मध्यनजर गर्दै दिउँसोको समयमा सतर्कता अपनाएर काम गर्ने गरिएको छ”, इन्जिनियर पाण्डेले भन्नुभयो, “हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्य प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्रे भइसकेको उहाँले जानकारी दिनुभयो ।
“पूर्वीमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्रे भइसकेको छ”, पाण्डेले भन्नुभयो, “राजमार्गको पूर्वीमा ४१ दशमलव सात किमी र पश्चिममा ३८ दशमलव ८८ किमीलाई दुई खण्डमा विभाजन गरी काम गरिरहेका छौँ ।”
पश्चिम खण्डमा दुई लेनको गरी २० किमी सडकमा कालोपत्रे गरिएको छ । असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्रे कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कालोपत्रे गर्न ‘सबबेस’ र ‘बेस’ बिछ्याउने समयमा वर्षा भएमा थप समस्या हुने भएकाले काम बन्द गरिएको हो ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । राजमार्ग सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा भएको आयोजनाले जनाएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्