कामको गति बढाउन कर्मचारीलाई मुख्यमन्त्री अधिकारीको निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारप्रति जनताको आशा बढाउनको लागि स्पष्ट योजनाका साथ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कर्मचारीहरूको कामको गति लगायतका विषयमा पोखरामा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार अन्तरगतका सबै कार्यालयले गरेको दैनिक कार्यप्रगति विवरण आफूलाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।
“प्रदेशको औचित्य पुष्टि गर्ने कुरा तपाईँको हातमा छ, कर्मचारीको प्रभावकारी कार्यसम्पादनले जनतामा आशा जगाउँछ”, उहाँले भन्नुभयो, “प्रि–मनसुन सुरु भइसकेको छ, मनसुनका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न तथा विपद्का घटना भइहालेमा तत्काल उद्धार राहत लगायतका कार्य गर्नको लागि तयारी अवस्थामा रहनुहोला ।”
उहाँले विपद् न्यूनीकरणका लागि र्यापिड रेस्पोन्स टोलीसहित ‘सेन्टर एक्सन रुम’लाई सक्रिय बनाउन आग्रह गर्नुभयो
मुख्यमन्त्री अधिकारीले साना टुक्रे योजनामा बजेट छुट्याउँदा प्रभावकारी नहुने भन्दै आगामी आर्थिक वर्षको नीति तथा योजना एवं बजेट निर्माण गर्दा विशेष ध्यान दिन निर्देशन समेत दिनुभयो ।
“निर्णय भएका काममा ढिलाइ नगरौँ, अत्यन्त उच्च मनोबलका साथ काम गरौँ, काम गर्दा राजनीतिक रङ्ग नदिनुहोला” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री अधिकारीले संविधानले दुई वर्ष सरकार नफेर्ने कल्पना गरेको भए पनि समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भन्ने प्रावधानका कारण स्थिर सरकार बन्न नसकेको बताउनुभयो ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत र सूचना अधिकारी राजन भट्टराईले आर्थिक वर्ष २०८०÷०८१ को कार्य प्रगति विवरण प्रस्तुत गर्दै विवरणप्रति मुख्यमन्त्री अधिकारीले राखेका जिज्ञासा मेटाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्