नेपालगन्ज रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी सञ्चालन
नेपालगन्ज । बाँकेको नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरी सञ्चालनमा आएको छ ।
नेपालगन्जमा गर्मी सुरु हुन थालेपछि सरकारी स्तरबाट सञ्चालित पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । चैत १ देखि पौडी पोखरी सञ्चालनमा आएपछि क्रमशः पौडी खेल्न आउनेको सङ्ख्या बढिरहेको छ । गर्मी चढ्न थालेपछि पौडी पोखरीमा पौडिन आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

खेलकुद विकास समिति नेपालगन्जका प्रमुख महेश चन्दले अहिले दैनिक ५० भन्दा बढी सर्वसाधारण पौडी खेल्न आउने गरेको बताउनुभयो । नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरी स्तरीय भएकोले सर्वसाधारणको रोजाइमा पर्ने गरेको छ । पौडी पोखरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको छ ।
राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०५६ सालदेखि नेपालगन्जमा पौडी पोखरीको निर्माण कार्य सुरु गरेको थियो । तर, पौडी पोखरी भने २०७६ सालमा भएको आठौँ राष्ट्रिय खेलकुद पश्चात् मात्रै निर्माण कार्य सम्पन्न भएको थियो ।
खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जले पौडी पोखरीको व्यवस्थापन गरिरहेको छ । पौडी पोखरीमा सर्वसाधारणहरूको लागि प्रतिव्यक्ति दुई सय र विद्यार्थीहरूको लागि एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । राष्ट्रिय खेलाडीहरूको लागि एक सय र अन्तर्राष्ट्रिय खेलाडीको लागि निःशुल्क व्यवस्था गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्