पर्सा ११ लाई नेपाल पुलिस क्लबले २५ रनले हरायो
वीरगन्ज । वीरगन्जको नारायणी रङ्गशालामा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको दोश्रोे खेलमा नेपाल पुलिस क्लबले पर्सा ११ लाई २५ रनले हराएको छ ।
पर्सा ११ ले २० ओभरमा ८ विकेटको क्षतिमा ९९ रन बनाएपछि पुलिसले २५ रनले जित निकालेको हो । खेलमा पर्सा ११ का खेलाडी पवन सरार्फले २६ बलमा ३२ रन बनाए भने पर्सा ११ का कप्तान सन्दीप लामिछानेले २८ बलमा २३ रन बनाएका थिए ।

अर्को खेलाडी सुरज पटेल २९ बलमा १७ रन र रुपेश सिंहले ९ बलमा १५ रन जोडे । पुलिसका बलर सागर ढकालले चार ओभरमा १२ रन खर्चिएर दुई विकेट पाए । यस्तै पुलिसका करण केसीले चार ओभरमा २४ रन दिएर दुई विकेट लिए ।
ललित राजवंशीले चार ओभरमा १८ रन दिँदै दुई विकेट पाए । यसअघि खेलमा पहिले ब्याटिङ गरेको पुलिसले पर्सा ११ लाई एक सय २५ रनको लक्ष्य दिएको थियो ।
पुलिसले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २४ रन बनाएको थियो । खेलमा पुलिसका खेलाडी करण केसीले सर्वाधिक १२ बलमा २९ रन बनाएका थिए । अर्को खेलाडी अमित श्रेष्ठले २६ बलमा २६ रन र आरिफ शेख २७ बलमा २२ रन जोडेका थिए ।
पर्सा ११ का कप्तान सन्दीप लामिछाने आजको खेलमा विकेटविहीन बन्न पुगे । उनले चार ओभरमा २८ रन खर्चिएका थिए ।
यस अघि आज भएको पहिलो खेलमा वन्डर क्लब नोयडा भारतले युपी– ११ भारतलाई ७ विकेटले पराजित गरेको थियो ।
युपी– ११ ले दिएको एक सय १५ रनको लक्ष्य नोयडाले १५ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्