जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा पानीका मुहानहरू सुक्न थाले
काठमाडौँ । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिले जलवायु परिवर्तनले खाद्य उत्पादनमा पर्न सक्ने प्रतिकुल प्रभावबाट हुने जोखिम न्यूनीकरणका लागि भएका कानुन र त्यसको कार्यान्वयनका विषयमा आज सम्बद्ध पक्षसँग छलफल गरेको छ ।
समितिले स्थलगत अध्ययनका क्रममा जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा पानीका मुहानहरू सुक्न थालेको, सम्म क्षेत्रमा भेटिँदै आएको सतहमा पानीको स्रोत भेटिन छाडेको, तराईका क्षेत्रमा डुबान हुनेक्रम बढेको र हिमाली क्षेत्रमा कृषि बालीमा निको नहुने खालका रोगहरू देखिन थालेको जनाएको छ ।
छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जलवायु परिवर्तनको असर कृषि र खाद्यमा बढिपर्ने भएपनि न्युनिकरणका लागि नियमावलीको अभावमा प्रभावकारी रुपमा काम हुन नसकेको जनाएको छ ।
यसैगरी बन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनका सन्दर्भमा समयानुकूल कानुन आउनु आवश्यक रहेको औँल्याएको छ ।
यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्ले जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि स्थानीय तह केन्द्रित कार्यक्रमहरू गर्नु पर्नेमा जोड दिँदै नार्कले जलवायु अनुकूलका बिउहरू सिफारिस गरेको जनाएको छ ।
छलफलमा विज्ञहरूले जलवायु परिवर्तनको प्रभाव कृषि, खाद्य लगायतका सबै क्षेत्रमा पर्न थालेकाले जलवायु अनुकूलका खाद्य उत्पादन लाग्नु पर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्