तपाईँ सुन्दै हुनुहुन्छः

इलाम दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

इलाम । इलामको रोङ गाउँपालिका –३ कोल्बुङको अर्याल चोकमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका–९ धारापानी का ६० वर्षीया शान्तमाया तामाङको गए राति र ३५ वर्षीया मनवती लामाको आज उपचारकै क्रममा झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको हो । धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले योसँगै बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको जानकारी दिनुभयो । 

बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । जसमध्ये तीनको मृत्यु भइसकेको छ । ३३ जनाको हाल वीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

धनुषाबाट इलामको कन्याम घुम्न आएको ना. ६ ख ८४२४ नम्बरको बस फर्कनेक्रममा सडकबाट अन्दाजी तीनसय मिटर तल खसेको थियो । बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका –२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । मोटरसाइकल जोगाउन खोज्दा बस सडकबाट भिरमा खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button