तपाईँ सुन्दै हुनुहुन्छः

इलाम साहित्य महोत्सव: विचार, संस्कृति र समृद्धिको साझा मञ्च

इलाम

“इलामलाई देशैभरि अलिअलि छर्न मन लाग्यो।”

अनन्य कवि भूपी शेरचनले इलामको प्राकृतिक सौन्दर्यबाट प्रभावित भएर लेखेको यो हरफ आज इलाम साहित्य महोत्सवमार्फत अर्को अर्थमा साकार हुँदै गएको छ। साहित्य, कला, संस्कृति र बौद्धिक बहसलाई एउटै मञ्चमा ल्याउँदै महोत्सवले इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक नक्सामा स्थापित गरिरहेको छ।

पाँचौँ इलाम साहित्य महोत्सवका अवसरमा प्रकाशित अक्षर महोत्सव स्मारिकाको सम्पादकीयमा इलामको समृद्ध साहित्यिक परम्पराको चर्चा गरिएको छ। वि.सं. २००९ मा करफोकमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम र निबन्धकार शङ्कर लामिछानेको उपस्थितिमा सम्पन्न साहित्य सम्मेलनदेखि चालीसको दशकमा भूपी शेरचन सहभागी सम्मेलनसम्मको इतिहासलाई इलामको साहित्यिक गौरवका रूपमा स्मरण गरिएको छ।

यही परम्परालाई निरन्तरता दिने उद्देश्यले इलाम साहित्य समाजले २०७६ सालमा महोत्सव सुरु गरेको थियो। कोभिड–१९ महामारीका कारण दुई वर्ष रोकिए पनि २०७९ सालदेखि इलाम नगरपालिकाअन्तर्गत साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानले नगरपालिकाको आर्थिक सहयोगमा यसलाई निरन्तर सञ्चालन गर्दै आएको छ। पाँचौँ संस्करण यस वर्ष वैशाख १८ र १९ गते सम्पन्न भयो।

सृजनात्मक पुस्तान्तरणको अवधारणासहित सुरु भएको महोत्सव पहिलो संस्करणदेखि नै साहित्य, कला, संस्कृति, समाज र राजनीतिसम्बन्धी खुला बहसको मञ्च बन्यो। प्रा. डा. सञ्जीव उप्रेती, कृष्ण धरावासी, खगेन्द्र सङ्ग्रौला, विश्वप्रकाश शर्मा, श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जिल, राजन मुकारुङलगायतका स्रष्टा र विचारकको सहभागितामा लोकतन्त्र, साहित्य, राजनीति, आख्यान, मिथक, मातृभाषा र समकालीन समाजका विविध विषयमा छलफल गरियो।

दोस्रो संस्करणदेखि महोत्सवको दायरा थप विस्तार भयो। नेपालका साथै भारत र बङ्गलादेशका साहित्यकार तथा कलाकारको सहभागिताले सीमापार साहित्यिक सम्बन्ध मजबुत बनायो। कविता, गजल, नाटक, चित्रकला, सिर्जनात्मक लेखन, पुस्तक विमोचन, काव्य साँझ र सांगीतिक प्रस्तुतिका माध्यमबाट महोत्सव सबै पुस्ताको साझा उत्सव बन्दै गएको छ।

तेस्रो र चौथो संस्करणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री स्वर्णिम वाग्ले, डा. सीके राउत, प्रदीप ज्ञवाली, गगन थापा, नारायणकाजी श्रेष्ठ, पृथ्वी सुब्बा गुरुङ, आनन्द कुमार, आनी छोइङ डोल्मा, श्रवण मुकारुङ, खगेन्द्र सङ्ग्रौला, राजन मुकारुङलगायतका व्यक्तित्व सहभागी भए। संघीयता, लोकतन्त्र, वातावरण, डिजिटल युग, युवा, सामाजिक सञ्जाल, साहित्य र समकालीन राजनीतिक विषयमा भएका बहसले महोत्सवलाई राष्ट्रिय बौद्धिक विमर्शको केन्द्र बनाएको छ।

पाँचौँ संस्करणमा साहित्यसँगै पत्रकारिता, शिक्षा, पर्यटन, अर्थतन्त्र र स्थानीय विकासका विषय पनि प्रमुख एजेन्डा बने। नेपाल र भारतका विभिन्न स्थानबाट आएका करिब १२० स्रष्टाको सहभागिताले महोत्सवको अन्तर्राष्ट्रिय आयाम थप बलियो भएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ।

इलामका स्रष्टा देवी गौतमका अनुसार महोत्सवले अन्तर्राष्ट्रियस्तरका साहित्यकारसँग सम्बन्ध विस्तार गर्ने अवसर दिएको छ भने युवापुस्तामा लेखन र साहित्यप्रतिको रुचि बढाएको छ। स्रष्टा प्रतिभा पौडेलका अनुसार यस्ता कार्यक्रमले सिर्जनशीलता बढाउनुका साथै सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेका छन्।

प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले साहित्यलाई समाज, पर्यटन र स्थानीय पहिचानसँग जोड्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको बताए। उनका अनुसार चिया पर्यटन, रैथाने संस्कृति र स्थानीय उत्पादनलाई साहित्यिक बहससँग जोड्ने प्रयास गरिएको छ।

इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खड्काले नगरपालिकाले २०७९ सालदेखि प्रत्येक वर्ष पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको जानकारी दिए। उपप्रमुख विष्णुकुमारी लिम्बु दाहालले महोत्सवले साहित्य, कला र संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन्। नगर प्रमुख केदार थापाले महोत्सवले इलामको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरसम्म स्थापित गर्दै पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृतिको संरक्षण र युवामा पठन संस्कृतिको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताए।

साहित्यिक कार्यक्रम मात्र नभई इलाम साहित्य महोत्सव अहिले पर्यटन, संस्कृति, अर्थतन्त्र र बौद्धिक संवादलाई जोड्ने साझा मञ्च बनेको छ। हरेक वर्ष नयाँ स्रष्टा, नयाँ विचार र नयाँ पुस्तालाई जोड्दै यसले भूपी शेरचनको सपना झैँ इलामलाई देशैभरि छरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button