तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा लक्ष्मी पूजाको दिन स्थापना गरिएको गणेश–लक्ष्मी मूर्ति विसर्जन रुट निर्धारण

बाँके । तिहारपछि नेपालगन्जमा राखिने गणेश र लक्ष्मीको मूर्ति विसर्जन कार्यलाई सद्भाव र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न धार्मिक सद्भाव समिति बाँकेले वडा प्रहरी कार्यालय नेपालगन्जसँग छलफल गरेर विसर्जनको बाटो निर्धारण गरेको छ । 

नेपालगन्जको धार्मिक सद्भावलाई कायम राख्दै मूर्ति विसर्जन कार्यलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा निकायसँग छलफल गरेर विसर्जनको रुट निर्धारण गरिएको धार्मिक सद्भाव समिति बाँकेका अध्यक्ष दीपक लोधले जानकारी दिनुभयो ।

उहाँले मूर्ति विसर्जन कार्यलाई भव्य र सभ्य कसरी बनाउने तथा कुन कुन बाटो भएर जाने बारेमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीसँग छलफल भई रुट निर्धारण गरिएको बताउनुभयो । 

वडा प्रहरी कार्यालय नेपालगन्जमा सम्पन्न भएको छलफलपछि गरिएको सहमतिअनुसार रानीतलाउ, त्रिभुवन चौक, त्रिवेणीमोड़, घरवारीटोल, धम्बोझी, सेतु बिक चोक, न्यूरोड, त्रिवेणीमोड़, वडा प्रहरी कार्यालय, फुलटेक्रा हुँदै राप्तीघाटमा पुगेर मूर्ति विसर्जन गरिने छ । 

निर्धारित गरिएको रुटबाटै मूर्ति विसर्जनका लागि जान सम्बन्धित सबै समितिलाई पत्राचार गरेर जानकारी गराइएको पनि सद्भाव समितिका अध्यक्ष लोधले जानकारी दिनुभयो।

मूर्ति विसर्जन कार्यलाई शान्तिपूर्ण तरिकाले भव्य र सभ्य रूपमा सम्पन्न गर्न भएको बैठक र छलफलमा वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज एवं प्रहरी निरीक्षक हरिबहादुर बिसी, धार्मिक सद्भाव समितिका अध्यक्ष दीपक लोध, सदस्यहरू राहुल कनौजिया, शिव मन्दिर रानीतलाउ नेपालगन्ज–८ का रामप्यारे वर्मा लगायतका व्यक्तिको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button