भूकम्पबाट जाजरकोटका ३४१ विद्यालयमा क्षति,१५ सय कक्षाकोठा भत्किए
जुम्ला।जाजरकोटमा भूकम्पका कारण ३ सय ४१ विद्यालयमा क्षति भएको छ । सामाजिक विकास कार्यालय जाजरकोटले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार जाजरकोटका ७ स्थानीयतहका ३ सय ४१ विद्यालयमा क्षति भएको सामाजिक विकास अधिकृत यज्ञेश्वर खत्रीले बताउनुभयो । उहाँका अनुसार जाजरकोटका ८ पालिका गरी जम्मा विद्यालय सङ्ख्या ४ सय २३ रहेकोमा ३४१ विद्यालयमा क्षति भएको हो ।
जसमा भेरी नगरपालिकाका ५१ वटा,नलगाड नगरपालिकाका ४७ वटा,छेडागाड नगरपालिकाका ४५,कशे गाउँपालिकाका ५५,शिवालय गाउँपालिकाका ४०,बारेकोट गाउँपालिकाका ३९, र जुनीचाँदे गाउँपालिकाका ६४ वटा विद्यालयमा क्षति पुगेको हो ।
त्यसैगरी जाजरकोट जिल्लाका २ सय ८९ वटा विद्यालय भवन पूर्ण रुपमा ध्वस्त भएका छन् । भने, ५ सय ९८ भवनका आंशिक क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्राविधिक सहायक जगदीश न्यौपानले बताउनुभयो ।
उहाँका अनुसार भूकम्पले एक हजार पाँच सय ९९ वटा कक्षा कोठामा क्षति भएको छ । भने १३ जना विद्यार्थीको मृत्यु र ९७ विद्यार्थी भूकम्पबाट घाइते भएका छन् । एक जना शिक्षकको मृत्यु भएको छ । त्यसैगरी १०३ वटा शौचालयमा पुर्णरुपमा क्षति र १८१ शौचालयमा आंशिक क्षति हुँदा ४७ वटा विद्यालयको घेराबारमा पूर्ण क्षति भएको छ । ७ वटा आइसिटी ल्याबमा समेत क्षति पुगेको छ । भने २ वटा विद्यालयको सोलार सिस्टममा क्षति भएको जनाइएको छ ।
साथै ३१ वटा सरकारी कार्यालयका भवनहरूमा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयहरू पूर्णरूपमा भत्किएका छन् । भने २५ वटा कार्यालयका भवनहरूमा आंशिक क्षति हुँदा सेवा प्रवाह समेत प्रभावित बनेको छ । भूकम्पका कारण प्रभावित भएका जिल्लाका १३ हजार नागरिक विस्थापित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्