मङ्सिर पहिलो साता हुने नवौं धारा नेपालगञ्ज म्याराथनको तयारी अन्तिम चरणमा

नेपालगञ्ज । मङ्सिर पहिलो साता हुने नवौं धारा नेपालगञ्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल क्रियटिभ ह्याण्ड्सले म्याराथनका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी मङ्सिर ९ गते शनिबार हुने म्याराथनको पुरस्कार रकम समेत वृद्धि गरिने आयोजकले जनाएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता ५ मङ्सिर २०६३ को स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगञ्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता हुने क्रम जारी छ ।
नेपालगञ्ज म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता प्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३औँ सभामा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिनुभएको थियो ।
एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
यो वर्ष चार विधा थप गरी विभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष/महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।
स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।
नेपालगञ्ज म्याराथनको स्टार्ट/फिनिसिङ गेट उपमहानगरपालिका कार्यालय अगाडि रहनेछ । त्यहाँबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पूरा हुन्छ ।







प्रतिक्रिया राख्नुहोस्