भक्तपुर जिल्लालाई सडक मानवमुक्त बनाउने अभियान सफल बन्दै

भक्तपुर । भक्तपुर जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउन विभिन्न निकाय एक भएर लागि परेका छन् । भक्तपुरलाई सडक मानव मुक्त जिल्ला बनाउन विभिन्न सरोकारवालाहरू एक जुट भएर रातमा सडक बस्न बाध्य मानव खोजी कार्यमा एक भएका छन् ।
शनिबार रातीदेखि भक्तपुरको पाँच तले मन्दिर प्राङ्गणबाट सप्ताहव्यापी खोज तथा उद्धार अभियान थालनी गरिएको हो ।अभियानको थालनी गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरलाई नेपालको नै पहिलो सडक मानव मुक्त जिल्ला बनाउन सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले मानिस सडकमा रहरले नबस्ने बताउँदै कुनै न कुनै बाध्यताका कारण मानिस सडकमा पुग्ने बताउँदै उनीहरूको उचित व्यवस्थापनमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।
बागमती प्रदेशलाई नै पहिलो सडक मानवमुक्त प्रदेश बनाउन आफूले गर्न सक्ने सम्पूर्ण काम गर्ने उहाँले बताउनुभएको थियो । सडक किनार वा पाटी पौवामा रात बिताउने सडक मानवहरूको उचित व्यवस्थापनका लागि सात दिन सम्म उक्त अभियान चलाइने अभियन्ता नवराज काफ्लेले जानकारी दिनुभयो । भक्तपुरमा भएका विभिन्न संघ संस्थाहरूले सडकबाट उठाएका सडकमा बस्न बाध्य मानवहरूलाई लालन पालन तथा व्यवस्थापन गर्ने काम गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

आफ्नो वडा नेपाल मानव सेवा आश्रम, लायन्स क्लब, पातञ्जल योग सेवा केन्द्र, मानव सेवा घर आश्रम, आफ्नो घर आफ्नो आश्रम, जिल्ला प्रहरी परिसर भक्तपुर, स्वच्छ हावा सञ्जाल, गैसस महासङ्घ, तौमडी यूथ क्लब, वेब ग्रुप, स्थानीय निकाय लगायत विभिन्न संघ संस्थाको सहयोगमा भक्तपुरलाई सडक मानवमुक्त बनाउन लागिएको हो ।
सात दिन सम्म चल्ने उक्त अभियान भक्तपुरका चार नगरपालिकामा नै रहेका सडकमा बस्न बाध्य मानवहरूको उद्धार तथा उनीहरूलाई परिवारसँग मिलन गराउने वा विभिन्न संघ संस्थाहरूमा नै राखेर स्वास्थ्य उपचार तथा बालबालिकाका लागि शिक्षा दीक्षा दिने व्यवस्था गर्ने उद्देश्यका साथ अभियान चालिएको हो ।
भक्तपुरमा सडक मानवमुक्त बनाउने पहिलो अभियानकर्ता संस्थाको रुपमा मानव कल्याण सेवा घर रहेको छ ।संस्थाले नियमित रुपमा सडक मानवलाई उद्धारका कार्यहरू गर्दै आइरहेको छ ।
‘हुनेबाट सहयोग नहुनेलाई उपयोग’ भन्ने नारा सहित सेवा गरिरहेको मानव कल्याण समाजको सेवा नितान्त नेपालीहरूको साथ सहयोग र सहभागितामा सञ्चालित छ । आठ वर्षअघि सात जना सडक मानवलाई सडकमै गएर खाना ख्वाएर शुरु भएको अभियान अन्तर्गत सेवा घरले भक्तपुरको सडकमा रहेको करिब ९५ प्रतिशत बेवारिसे मानवहरूको उद्धार गरिसकेको छ ।
अभियान अन्तर्गत सडक मानवमुक्त अभियान बनाउने लक्ष्यका साथ सडक तथा बेसहारा मानवहरूको उद्धार, उपचार, हेरचाह तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । विभिन्न कारणले गर्दा सडकमा अत्यन्तै कष्टकर जीवन बिताउँदै आएका सहयोगापेक्षी तथा बेसहारा सडक मानवको उद्धार, उपचार र व्यवस्थापन गर्नाले सडक मानवमुक्त अभियान क्रमशः सफल बन्दै आएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्