सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो ।

आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।”
पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताउनुभयो । प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । आफू पनि कानूनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताउनुभयो । कानून व्यवसाय मर्यादित पेशा भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेताहरूको आँगनमा देउसी, भैलो खेलेर न्यायाधीश बन्ने दिन गए ।”
क्षमता नभएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस नगर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, “न्यायालयमा भएको भ्रष्टाचार शून्य गर्न म मन्त्री भएको हुँ । त्यो सफा गर्ने क्रममा ब्रिफकेस बोकेर धाउने न्यायाधीश बन्न सक्दैन । निष्पक्ष रूपमा क्षमताका आधारमा न्यायाधीश छानिन्छ ।”
कांग्रेस महामन्त्री गगनकुमार थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठिक ठाउँमा उभिनु पर्ने बताउनुभयो । पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि अहिलेको पद्धतिलाई भत्काउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । पार्टीलाई अझै सशक्त बनाएर अघि बढ्ने उहाँको भनाइ थियो ।
केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको व्यवस्था र संविधानमाथि आक्रमण भइरहेको बताउनुभयो । लामो सङ्घर्षपछि ल्याएको व्यवस्था र संविधानमाथिको आक्रमण रोक्नका लागि कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुषाल, पूर्व महान्यायाधिवक्ता बाबुराम कुँवर, खम्बबहादुर खाती, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष माधव यादव, प्रेमबहादुर खड्का, हरिहर दाहाल, शेरबहादुर केसी, सर्वोच्च अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपेन्द्र केसरी न्यौपाने लगायतले धारणा राख्नुभएको थियो ।
पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभर ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानून व्यवसायीमध्येबाट एक हजार चार सय एक जना महाधिवेशन प्रतिनिधि सहभागी हुनुहुन्छ । नयाँ नेतृत्वमा सर्वसम्मत बनाउने प्रयास भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्