ओखलढुङ्गामा गुडिरहेको सुमोमा अचानक आगलागी

ओखलढुङ्गा । ओखलढुङ्गामा गुडिरहेको सवारीमा अचानक आगलागी भएको छ ।
काठमाडौँबाट सोलुखुम्बुका लागि छुटेको ना१ज ८८८२ नम्बरको सुमोमा अचानक आगलागी भएको हो ।
सिद्धिचरण राजमार्ग अन्तरगत मानेभञ्ज्याङ गाउँपालिका–७ हिलेपानी नजिक गुडिरहेको सुमोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । घटनामा मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।
“गुडिरहेको सुमोमा एक्कासी आगो लागेर सवारी पूर्ण रुपमा जल्यो तर मानवीय क्षति भने हुन पाएन”, निरीक्षक दासले भन्नुभयो, “घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौँ ।”
सुमोमा नौ जना सवार थिए । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।
उकालोमा सवारी अत्याधिक तातेका कारण वायरिङ सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ ।
चालकहरूका अनुसार यो क्षेत्रमा उकालोमा इन्जिन तात्ने र ओरालोमा लामो समय ब्रेक लगाउँदा सवारी अनियन्त्रित भएर दुर्घटना हुने समस्या बढेको छ ।







प्रतिक्रिया राख्नुहोस्