राजविराज नगरपालिकाभित्रका स्वास्थ्य चौकीहरूमा औषधी अभाव
राजविराज । सप्तरीको राजविराज नगरपालिका भित्रका स्वास्थ्य चौकीहरूमा औषधीको अभाव देखिएको छ । राजविराज नगपालिका अन्तरगत पर्ने दिघवा स्वास्थ्य चौकी , मलेठ स्वास्थ्य चौकी र वोरिया स्वास्थ्य चौकीमा औषधी अभाव देखिएको हो ।
राजविराज –१० दिघवा स्वास्थ्य चौकीका प्रमुख मिथिलेश यादवले ‘३ महिनादेखि स्वास्थ्य चौकीमा जीवन जल, सिटामोल र रुघाखोकीको औषधि नभएको जानकारी दिनुभयो । उहाँले कार्यालयमा औषधि बेगर बस्नुपर्दा लाज लाग्न थालेको बताउनुभयो ।
यादवका अनुसार स्वास्थ्य चौकीमा शितलहरका बेला विपन्न र गरिब ठूलो सङ्ख्यामा औषधी लिन आउँछन् । उहाँले भन्नुभयो ‘चिसो बढेको छ । सामान्य रुघाखोकी औषधि पनि छैन भन्नु पर्दा लाजमर्दो पो भयो ।’
राजविराज – ९ मलेठ स्वास्थ्य चौकीका प्रमुख रामकुमार यादवले पनि स्वास्थ्य चौकीमा औषधि नभएको गुनासो गर्नुभयो । ‘सोमबार पत्र नै पठाएर नगरपालिकासित औषधि माग गरेको छु । तर अहिलेसम्म औषधी आएको छैन । स्वास्थ्य चौकीमा हुनुपर्ने न्यूनतम औषधि पनि छैन ।’उहाँले भन्नुभयो । राजविराज–१६ बोरिया स्वास्थ्य चौकीका प्रमुख फूलबाबु गुप्ताले पनि औषधि अभावले समस्या भइहरेको बताउनुभयो । ‘सामान्य प्रकृतिका औषधिसमेत छैनन्,’ उहाँले भन्नु भयो ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा ३० लाखभन्दा बढी रकम बराबरको औषधि खरिदको भुक्तानी भइसकेको छ । चालु आर्थिक वर्ष ०७९÷८० का लागि राजविराज नगरपालिकाले आफ्नो स्रोतबाट औषधि खरिदका लागि रकम बिनियोजन नै गरेनन् । संघीय सरकारको सर्सत अनुदानअन्तर्गत औषधि खरिदका लागि २४ लाख रुपैयाँ आए पनि औषधि खरिद गरिएको छैन । आर्थिक वर्ष सुरु भएको साढे पाँच महिना बित्दा पनि औषधि खरिदमा चासो दिएको छैन । आर्थिक वर्ष ०७६÷७७ को औषधि खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
‘आर्थिक वर्षको अन्त्यतिर कोटेसनमार्फत औषधि खरिद गर्ने चलन छ । कोटेसनबाट औषधि किन्दा कमिसन राम्रो आउँछ । त्यही लोभमा औषधि खरिदमा अहिले चासो देखाइएको छैन । राजविराज नगरपालिकाका सूचना अधिकारी सुरेश यादवले ससर्त अनुदानअन्तर्गत औषधि खरिदका लागि रकम रहेपनि औषधि खरिदमा ढिलाइ भएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्