तपाईँ सुन्दै हुनुहुन्छः

जनअपेक्षा अनुसारको सेवा दिनु सार्वजनिक पद धारण गर्ने सबैको दायित्व हो : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसद्लाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभएको छ । 

१६ औँ संघीय संसद् सेवा दिवसको अवसरमा संघीय संसद् सचिवालयले आज आयोजना गरेको समारोहमा अध्यक्ष तिमिल्सिनाले जनअपेक्षा अनुसारको सेवा दिनु सार्वजनिक पद धारण गर्ने सबैको दायित्व भएको बताउनुभयो । 

उहाँले दलहरूकै कारण राजनीतिक दलप्रतिको दृष्टिकोण बदलिएको बताउँदै सेवा प्रवाहका आधारमा जनताले दृष्टिकोण निर्माण गर्ने धारणा राख्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले संघीय संसद्लाई प्रभावकारी बनाउन सरकार र संसदबीचको सहकार्य आवश्यक रहेको समेत बताउनुभयो । 

संघीय संसद्का महासचिव भरतराज गौतमले सीमित स्रोत साधनका बीच पनि सचिवालयले संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन प्रयत्नशील रहेको बताउनुभयो । 

उहाँले राज्यबाट सुविधा लिएपछि आफ्नो कर्तव्य पूरा गर्नु कर्मचारीको दायित्व भएको भन्दै यसमा गम्भीर हुन कर्मचारीहरूलाई आग्रह गर्नुभयो । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले प्रदेश र संघीय संसदबीचको समन्वय प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले कानुन निर्माण प्रक्रियामा संसद् र सरकारबीचको सहकार्य महत्त्वपूर्ण हुने भएकाले यसमा मन्त्रालय सहकार्यका लागि सधैँ तत्पर रहेको स्पष्ट पार्नुभयो । 

संघीय संसद् सेवा कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष गोविन्द चौलागाईले संसद् सेवामा रहेका कर्मचारीको बृत्तिविकास र सेवा सुविधामा राज्यले ध्यान दिन नसकेको बताउनुभयो ।

संघीय संसद् सचिवालयले संघीय संसद् सेवा दिवसको अवसरमा सर्वोत्कृष्ट, उत्कृष्ट र संसद् सेवा पुरस्कार वितरण गरेको छ । 

सचिवालयले एक लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट संसद् सेवा पुरस्कार उपसचिव सिर्जना बराललाई प्रदान गरेको छ । 

यस्तै ७५ हजार राशिको उत्कृष्ट संसद् सेवा पुरस्कार शाखा अधिकृत बाबुराम बस्याललाई र जनही पचास हजार राशि रहेको को संसद् सेवा पुरस्कार संघीय संसद् सचिवालयका माली चन्द्र बहादुर नगरकोटी र खरिदार चन्द्र प्रसाद ढुङ्गानालाई प्रदान गरेको छ । 

यसैगरी सचिवालयले राखेको विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई नगद तथा प्रमाण पत्र समेत वितरण गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button