भोजपुरमा गठबन्धन दलको चुनावी सभा नजिकै बम विस्फोट
भोजपुर । भोजपुरमा गठबन्धन दलले गरेको चुनावी सभा नजिकै बम विस्फोट भएको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर २ को तिवारी भञ्ज्याङमा गठबन्धन दलको चुनावी सभा स्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटमा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
विस्फोटमा परी अरूण गाउँपालिका वडा नम्बर ४ का सुमन श्रेष्ठ घाइते भएका छन् । उनको खुट्टामा चोट लागेका र स्थानीय स्तरमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
उक्त चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महत आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्