जनकपुरधाममा छठ पर्वको तयारी तीव्र, गंगासागरमा विशेष सरसफाइ
जनकपुरधाम । जनकपुरधाममा विशेष धुमधामका साथ भव्य रुपमा मनाइने छठ पर्वको तयारी तीव्र रुपमा शुरु भएको छ ।
जनकपुरधामको प्रसिद्ध गंगासागर क्षेत्र लक्षित गरेर जनकपुरधाम उपमहानगरपालिकाको अगुवाई तथा विभिन्न संस्थाहरूको सहभागितामा बृहत् सरसफाइ कार्यक्रम आज सम्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको अगुवाइमा सशस्त्र प्रहरी, नगर प्रहरी, गंगासागर छठ पूजा समिति तथा बजरङ्ग युवा क्लबको सहभागितामा सरसफाइ गरिइएको छ ।

गंगासागर क्षेत्रमा लगाइएको टहराहरू हटाउने काम भएको छ । जनकपुरधाममा सबै भन्दा भव्य रुपमा गंगासागर, धनुषसागर, अंगराजसर सहितको पोखरी एवं तलाउमा भव्य रुपमा छठ पूजाको आयोजना हुँदै आएको छ । नगरप्रमुख साहले विशेष सरसफाइ निरन्तर रुपमा नै जारी रहने बताउनुभयो ।
नगरपालिकाले नियमित रुपमा गर्दै आएको सरसफाइका अतिरिक्त मिथिलाको सबै भन्दा ठूलो तथा महान् छठ पर्वलाई लक्षित गरेर नियमित रुपमा विशेष सरसफाइ गरिने नगरप्रमुख साहले बताउनु भयो । गंगासागर क्षेत्रको छठ हेर्नका लागि देशी तथा विदेशी पर्यटकहरू पनि जनकपुरधाम आउने गरेका छन् ।
जनकपुरधाममा रहेको ७२ पोखरी मध्ये करिब दुई दर्जन पोखरीहरूमा छठ घाटको निर्माण गर्ने काम शुरु भएको छ । अधिकांश घाटहरूमा पूजा समिति नै निर्माण गरेर सरसफाइ गर्ने काम भइरहेको छ । जनकपुरधामको बाल्मिकीसर छठ पूजा समितिले सरसफाइका साथ घाटको निर्माण गरिरहेको वाल्मीकि युवा क्लबका पूर्व अध्यक्ष कृष्णा सिंहले जानकारी दिनु भयो ।

छठ पर्वमा प्रकृतिको संरक्षण गर्नु पर्ने गहिरो सन्देश दिने भएकाले पानीको श्रोत भएको ठाउँको सरसफाइ तथा संरक्षण गर्ने सन्देश युवा देखि बालबालिकाहरूमा प्रवाहित भएकोले यसलाई निक्कै सकारात्मक रुपमा लिइएको छ ।
छठ पर्वमा अत्यधिक मात्रामा सामाग्रीहरूको प्रयोग हुने भएकाले छठ पर्व हुने हरेक घरहरूमा यसको तयारी १५ दिन अगाडी देखि नै शुरु भएको छ । अहिले हाट बजार सबै तीर छठकै सामानहरूको किनमेल बढी मात्रामा हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्