हवाई टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र

खजुरा I दसैँमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ तर, हुम्लाका सलिन ठकुरी र उहाँका साथीहरू यतिबेला नेपालगञ्जमा दसैँमा घर जान नपाइरहेको पीडामा हुनुहुन्छ । हुम्लाका लागि एक मात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाडौँमै उडान केन्द्रित गराएपछि उनीहरूले टिकट पाएका छैनन् । यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान नभएको दुखेसो सुनाउँछन् ।
अहिले नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाजका लागि उहाँहरू निराश अवस्थामा विमानस्थल परिसरमा भेटिनुभयो । बिहीबार नेपालगञ्जबाट हुम्लाका लागि समिट र ताराको एउटा जहाजले उडान गरे । तर, विमानस्थलमा टिकटका लागि पुगेका कसैले पनि उड्न पाएनन् । विमान कम्पनीका कर्मचारीले टिकट पहिले नै प्याक भइसकेको जवाफ दिइरहेका थिए ।
समिट एयरका कर्मचारीले आइतबार उडान गर्ने समय तालिका रहे पनि टिकट दिन नमान्ने ती कर्मचारीले भन्दै थिए, “हामी यहाँ बसेर सेवा दिइरहेकालाई पेल्ने तर, यतिबेला एउटा पनि विमान यहाँ नराखेर लुक्ला तिर गएका कम्पनीहरूलाई केही नभन्ने रु”
हुम्लाका चुनराज शाहीले दुई हप्तादेखि भौँतारिँदा पनि टिकट नपाइएको दुःखेसो पोख्नुभयो । उहाँले विमान कम्पनीले नाफा कमाउन विदेशी पर्यटकलाई बोक्न पूर्वतिर लाग्दा कर्णालीवासीको अधिकार खोसिएको बताउनुभयो । अहिले विमान कम्पनीले कर्णाली जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ । निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द अवस्थामा रहेको थियो । भएका उडानमा पनि सर्वसाधारणले टिकट पाउँदैनन् । नेता तथा पहुँचवाला र तिनका आफन्तले फोन गरेकै भरमा टिकट दिने गरेका कारण आधिकारिक बाटोबाट टिकट काट्न पुग्ने सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ ।
यस्तो अवस्थामा पनि नेपालगञ्ज विमानस्थलमा हेल्प डेस्कको व्यवस्था छैन कति यात्रुहरू कहाँका लागि टिकट पर्खिरहेका छन् भन्ने रेकर्ड न विमान कम्पनीसँग छ न विमानस्थल प्रशासनसँग । कर्णालीवासी सर्वसाधारण भने दसैँको मुखमा घरको याद मनमा बोकेर भौँतारिरहेका छन् । चुनराज शाहीले भन्नुभयो, “चुनावका बेला जबरजस्ती बोलाएर टिकट दिएर विमानमा उडाएर लैजाने नेताहरू अहिले कता छन् थाहा छैन ।”
तारा एयरका तीन वटा जहाजमध्ये एक वटा कर्णालीका लागि र दुई वटा अहिले पूर्वतिर उडान भर्ने गरिएको तारा एयरका नेपालगञ्ज स्टेशन म्यानेजर दिलीप कार्कीले बताउनुभयो । उहाँका अनुसार हामीले एक जहाजमार्फत तालिका अनुसार हप्ताको दुई–तीन दिन कर्णालीका लागि उडान गरेका छौँ । उहाँले भन्नुभयो, “अस्तिसम्म यात्रु नै थिएनन् अहिले दसैँ मनाउन विशेष गरी विद्यार्थीहरू मात्रै बढी भएर एकै पटक भीड भएको हो, पालोअनुसार बिस्तारै उडाइरहेका छाँै ।” दसैँसम्म सबै यात्रु आफ्नो घर पुग्ने उहाँ विश्वस्त हुनुहुन्छ ।
वर्षमा दुई महिना सेप्टेम्बर र अक्टोबर पर्यटक आउने सिजन भएकाले घाटामा हुने गरेको एयरलाइन्सलाई पनि आम्दानी गर्न मुख्य स्रोतको आवश्यकता पर्ने भएकाले पहिलो प्राथमिकता पर्यटकलाई आकर्षण गरिएको उहाँले बताउनुभयो । स्टेशन म्यानेजर कार्कीका अनुसार अहिले दुई जहाज पूर्व लुक्ला तिर पठाएको छ । “हामीसँग चार वटा जहाज थियो एक वटा जहाज जोमसोममा कर्यास भएपछि तीन वटाले धानेका छौँ”, उहाँले भन्नुभयो ।
कर्णालीका जिल्लाका लागि अहिले नेपाल एयरलाइन्स, समिट र ताराले हवाई उडान गर्दै आएका छन् । यसमा नेपाल एयरको जहाज बिग्रिएर उडेको छैन भने अहिले दुई वटा कम्पनीले मात्र उडान गरिरहेका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्