‘विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको स्वरूप परिवर्तन गर्ने गतिविधि रोक्नुपर्छ’
काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले राष्ट्रको अस्तित्व र पहिचानलाई सुदृढ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

समितिको आजको सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणको नाममा ऐतिहासिक रुपमा महत्वपूर्ण नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको मौलिक स्वरूप परिवर्तन गर्ने गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभयो ।
सांसदहरुले नेपालका प्राचीन भाषामा लेखिएका सांस्कृतिक र ऐतिहासिक साहित्य, शिलालेख, अभिलेख र ताम्र पत्रको अध्ययन–अनुसन्धान राष्ट्रिय शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने र ऐतिहासिक कृतिको प्रतिलिपि अधिकार (कपिराइट) संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा इतिहासविद् राजकुमार पोखरेलले युट्युब, पोडकास्ट लगायत डिजिटल माध्यममा प्रसारित अप्रमाणित ऐतिहासिक सामग्रीको प्रभाव बढ्दै गएको बताउँदै प्रमाणमा आधारित वास्तविक इतिहासको खोज, अध्ययन र प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।
बैठकमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूले प्राचीन मठमन्दिर तथा सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक महत्वबारे पर्याप्त जनचेतनाको अभाव र अप्रमाणित ऐतिहासिक व्याख्याका कारण पुरातात्त्विक सम्पदाहरू नष्ट भइरहेको र इतिहासको विकृतीकरण बढ्दै गएको बताउनुभयो ।
पदाधिकारीहरूले राजनीतिक प्रचार र व्यावसायिक स्वार्थका आधारमा इतिहास लेख्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिँदै राजनीतिक, आर्थिक, सामाजिक तथा भौगोलिक इतिहासको एकीकृत अध्ययन, अभिलेखीकरण र संरक्षणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्