कर्फ्यु उल्लङ्घन भएपछि कप्तानगन्जमा सेनाद्वारा गस्ती सुरु
सुनसरी । सुनसरीको देवान गन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेपछि नेपाली सेना परिचालन गरिएको छ।

सोमबार बिहानैदेखि कर्फ्यु अवज्ञा गर्दै ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गरिएको हो।
बख्तरबन्द गाडीसहित अत्याधुनिक हतियार बोकेको सेनाको टोली कप्तानगन्ज पुगेर फिल्डमा खटिएका छन् अब प्रदर्शनकारी तितरबितर हुन थालेको र अवस्था क्रमशः नियन्त्रणमा आउने अपेक्षा राखिएको प्रजिअ घिमिरेले बताउनुभयो ।
सेना परिचालन हुनुअघि नै प्रदर्शनकारीले पाँच वटा पसलमा तोडफोड गर्नुका साथै पसलभित्र रहेका सामान सडकमा निकालेर आगजनी गरेका थिए। प्रहरीका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड गरी सामानमा आगो लगाइएको हो। सुरक्षाकर्मी तत्काल पुग्न नसकेका क्षेत्रमा बढी क्षति भएको प्रारम्भिक निष्कर्ष प्रशासनको छ।
प्रजिअ घिमिरेका अनुसार अवस्था थप बिग्रिए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा आवश्यक सुरक्षा कारबाही अघि बढाउनेछन्।
यसअघि आइतबार राति भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आज बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवान गन्ज बजार क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।








प्रतिक्रिया राख्नुहोस्