गैरसरकारी संघसंस्थाले सूचना लुकाएको आरोप
सिन्धुली। कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पार्दशिता नभएको बताउनु भएको छ ।
राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा उहाँले उक्त बताउनुभएको हो ।सेवामुलक संस्थाका सञ्चालक नाफामुखी भएका उहाँको भनाइ थियो । “गैरसरकारी संघसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको जानकारी नै दिइदैन, सूचना लकाइन्छ”, नगरप्रमुख पोखरेलले भन्नुभयो ।
गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा करोडौँ रकम असुल्ने काम भइरहेको आरोप लगाउँदै उहाँले किर्ते कागजात बनाएर अपारदर्शी काम गर्ने संघसंस्थालाई राज्यले कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले कानुन सबैलाई बराबर हुने बताउँदै गैरसरकारी संघसंस्थाले सूचना लुकाउन नमिल्ने र सबै संघसंस्थामा पनि सूचना अधिकारी तोकिनुपर्नेमा जोड दिँदै सूचना लुकाउने र सूचनाको दुरुपयोग गर्नेलाई कानुन बमोजिम सजाय हुने बताउनुभयो ।
उक्त आयोगका अर्का आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सूचना हकका अभियन्ताहरुको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्