तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णपुरका किसानलाई परिचय पत्र वितरण

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरुआत गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघको  सहकार्यमा  नगरपालिकाले किसानलाई बर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो  ।

किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरणको कार्य थालनी  गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताउनुभयो । उहाँका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौतला किसान र ठुला किसानलाई अलग अलग श्रेणीमा बर्गिकरण गरी परिचय पत्र उपलव्ध गराउने कार्य भैरहेको छ । 

तीन कठ्ठा सम्म जग्गा भएका, कृषिबाट एक लाख भन्दा कम बार्षिक आय भएकालाई भूमिहिन, सिमान्तकृत, किसान मजदुरका रुपमा राखिएको छ । त्यस्ता किसानलाई १०० प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ । चार कठ्ठादेखि १५ कठ्ठा सम्म जग्गा भएका, कृषि कार्यबाट रु एक लाख देखि रु पाँच लाख सम्म बार्षिक आय हुने किसानलाई साना किसानका रुपमा राखिएको छ । 

साना किसानलाई ७५ प्रतिशत अनुदान उपलव्ध गराईने छ । १५ कठ्ठा देखि तीन विघा जग्गा भएका , कृषिबाट रु पाँच लाख देखि रु १५ लाख बार्षिक आय भएका किसानलाई मझौला किसानका रुपमा राखिएको छ । मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । तीन विघा भन्दा बढी जग्गा भएका कृषि कार्यबाट रु १५ लाख देखि ५० लाख सम्म आय भएका किसानलाई ठुला किसानका रुपमा राखेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।

यस्ता किसानलाई २५ प्रतिशत अनुदान उपलव्ध गराइने छ । जग्गा भाडामा दिने, स्वयं खेती नगर्ने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सुचिकृत नगरिएको कार्यालय प्रमुख धामीले बतााउनु भयो । 
“नगरपालिका नौ वटै वडा कार्यालय मार्फत परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएका छौं” कृषि शाखा प्रमुख धामीले भन्नु भयो, “परिचय पत्र वितरण गर्ने कार्यको सोमवार नगर प्रमुख हेमराज ओझाले सुभारम्भ गरेका छन, पहिलो दिन ४० बढी परिचय पत्र वितरण भएका छन,बाँकी परिचय पत्र वडा कार्यालयले बाँडछन ।” नगरपालिकाका १४ हजार २६८ किसानलाई परिचय पत्र वितरण गर्नका लागि सुचिकृत गरेको छ ।

भूमिहीन, सिमान्तकृत, किसान मजदुरको सङख्या चार हजार ३८९, साना किसान पाँच हजार २०१, मझौला किसान एक हजार ५६५ र ठुला किसान ३२२ रहेका छन । सुचिकृत नहुने किसान ३७२ रहेका छन ।“गणकहरुको नियुक्ति गरी तालिम दिएर किसानको घर घरमा तथ्याङ्क संकलनको कार्य गरयौं” कार्यालय प्रमुख धामीले भन्नु भयो, “त्यसपछि प्राप्त तथ्याङकलाई कम्प्युटरमा प्रष्टि गरी सफ्टवेयरको माध्यमबाट चार श्रेणीका किसानको पहिचान गरी परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।”

 परिचय पत्रकै आधारमा नगरपालिकाबाट किसानलाई वीउविजन, मलखाद, कृषि औजार, उपकरण लगायत अनुदानका उपलव्ध गराइने उहाँले बताउनुभयो ।  नगर प्रमुख हेमराज ओझाले नगरपालिका भित्र बसोवास गर्ने वास्तवीक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि बर्गीकरण सहितको परिचय पत्र वितरण भैरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button