तपाईँ सुन्दै हुनुहुन्छः

पदमचाल संरक्षणमा कालिन्चोकका होटल व्यवसायी

दोलखा । धार्मिक एवं प्राकृतिक पर्यटकीय केन्द्र कालिन्चोक कुरीका होटल व्यवसायीहरू अहिले जडीबुटीको संरक्षणमा समेत जुटेका छन् ।

उच्च हिमाली भेगको भिरालो जमिनमा पाईने पदमचाल संरक्षण गर्न कुरीका होटल व्यवसायीहरूले करेसा बारीमा त्यसको बिरुवा रोप्न थालेका हुन् ।

पदमचाल जस्तो महत्त्वपूर्ण जडीबुटी अव्यवस्थित ढङ्गले उखेल्ने गर्न थालेपछि लोप हुने खतरा बढेकोले कालिन्चोकका होटल व्यवसायीहरूले आफ्नो करेसा बारीमा त्यसको बिरुवा रोप्न सुरु गरेको कालिन्चोकको कुरीमा रहेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताउनुभयो ।

दोलखाको कालिन्चोक मन्दिर ३८ सय मिटर उचाइमा रहेको छ । झण्डै ३३ मिटर उचाइमा रहेको कालिन्चोकको कुरीमा अहिले एक सय भन्दा बढी साना तथा ठूला होटलहरु सञ्चालनमा रहेको छ । कुरीमा रहेका एक सय भन्दा बढी होटलहरु मध्यका ४०/४५ ओटा होटल सञ्चालकले आफ्नो करेसा बारीमा पदमचालको बिरुवा रोपेको होटल सुनपातीका सञ्चालक ओलीको भनाई छ ।

आफ्नो होटल क्षेत्रमा रहेको करेसा बारीमा दुई देखि १०/१५ वटासम्म पदमचालको बिरुवा रोपेको कुरीका स्थानीय होटल व्यवसायीहरू बताउनुहुन्छ । विशेष गरी तीन हजार भन्दा बढीको उचाइमा पाईने पदमचालको बिरुवा कुरीमा राम्रोसँग फस्टाएको ओलीले बताउनुभयो ।

पदमचालको वैज्ञानिक नाम रुहेम इमोडी हो । यसलाई संस्कृत भाषामा रेवाचिनी, अम्लसार आदी पनि भनिन्छ । एकदेखि दुई मिटरसम्म अग्लो हुने पदमचालको पात ३० सेमीसम्मको चौडा हुने गरेको छ । यसको फुल सानो र रातो रङ्गको हुने गरेको छ । पदमचालको स्वाद पिरो, टर्रो र केही मात्रामा अमिलो हुन्छ ।

पदमचालको संरक्षणको लागि आफ्नो करेसामा बिरुवा रोपेर हुर्काइरहेका कुरीका होटल व्यवसायीहरू कालिन्चोक आउने पर्यटकलाई पदमचालको डाँठको अचार बनाएर दिने गर्छन् । जरा भने ढाड दुख्दा, सुत्केरीको लागि, ब्लड प्रेसरका बिरामीको लागि, कब्जियत हुँदा, ज्वरोका बिरामीलाई उपयोगी हुने भएकोले सोही अनुसार आफ्नो लागि र कालिन्चोक आउने पर्यटकको लागि उपलब्ध गराउने होटल व्यवसायीहरूको भनाई छ ।

कालिन्चोक मन्दिर जाने बाटो आसपास केही स्थानीयले पूजा सामग्रीसँगै पदमचाल, जिम्बु र छुर्पी बिक्री समेत गर्दै आएका छन् । स्थानीय पञ्चमाया तामाङ कालिन्चोक मन्दिर आउने पर्यटकले पदमचालको जरा खोज्ने भएकोले आफूहरूले जोखिम मोलेर भीरबाट खोजेर ल्याउने गरेको बताउनुहुन्छ ।

अहिले कुरीका होटल व्यवसायीहरूले पदमचालको बिरुवा रोप्न लागेकोले केही सहज हुने अपेक्षा आफूहरूले गरेको पञ्चमायाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button