प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेहरूलाई छोड्दैनौ : अध्यक्ष पोखरेल

बारा । नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रतालाई हनन गर्न खोजे महासङ्घ चुप लागेर नबस्ने बताउनु भएको छ ।
बाराको सदरमुकाम कलैयास्थित करणराज प्यालेसमा आइतबार साझेदारी दैनिक राष्ट्रिय पत्रिकाको ८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएको अध्यक्ष पोखरेलले राजनीतिक दलहरूले सत्तामा नरहँदा प्रेसको वकालत गर्ने तर सत्तामा आउँदा प्रेसको घाटी निमोठ्ने काम मात्र गर्ने गरेको हुँदा मुलुकमा प्रेस स्वतन्त्रताका हनन गर्ने खोज्ने जोकोही सँग हाम्रो सहकार्य नहुने ठोकुवा गर्नुभयो ।
प्रेस बलियो नभए प्रजातन्त्र बलियो नहुने बताउँदै अध्यक्ष पोखरेलले प्रेस माथि अङ्कुश लगाउने काम सह्य नहुने बताउनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारहरूको श्रम ऐन लागु गर्न माग गर्नुभयो । संविधान सभा सदस्य डाक्टर शोभाकर पराजुलीले विधिको शासन कायम, मुलुकमा शान्ति सुव्यवस्था कायम गराउन र राज्यको हरेक निकायलाई खबरदारी गर्ने प्रेस जगतलाई सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साझेदारी दैनिकका प्रकाशक श्यामबाबु यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रेस युनियनको केन्द्रिय समितिमा बाराबाट निर्वाचित हुनु भएको अध्यक्ष शिव लम्साल, केन्द्रिय सदस्यहरु गणेश रिजाल र अप्सरा पुडासैनीलाई नेपाल प्रेस युनियनका केन्द्रिय संस्थापक सदस्य डाक्टर शोभाकर पराजुलीले दोसल्ला सहित सम्मान पत्रले सम्मानित गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्