तपाईँ सुन्दै हुनुहुन्छः

देखिने गरी दिने न्याय सम्पादनले नै अदालतप्रतिको जनआस्था बढ्ने : वरिष्ठतम न्यायाधीश कार्की

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले देखिने गरी दिने न्याय सम्पादनले नै अदालतप्रतिको जनआस्था बढ्ने बताउनुभएको छ ।  

न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै न्यायाधीश कार्कीले न्यायाधीश र स्वयम् अदालतकै कार्यसम्पादनले अदालतप्रतिको जनआस्था बढाउने  बताउनुभयो । 

उहाँले कतिपय मुद्दा वा विषयमा सञ्चारकर्मीलाई संयमित भइदिन आग्रह गर्दै  समाचारकै कारण कतिपय मुद्दामा न्यायाधीश हच्किने गरेका कारण न्याय सम्पादनमा ढिलाइ हुने गरेको गुनासो समेत गर्नुभयो ।

स्वच्छ र सकारात्मक आलोचनाले अदालतलाई सहयोग पुर्‍याउने बताउँदै न्यायाधीश कार्कीले आग्रह पूर्वाग्रहबाट आउने समाचारले भने न्याय सम्पादनलाई प्रभावित पार्ने उल्लेख गर्नुभयो । उहाँले अदालतको गरिमामा आँच आउने कार्यले कसैलाई राम्रो नगर्ने समेत बताउनुभयो ।

न्यायाधीश कार्कीले न्याय सम्पादनको ठाउँमा बसेर गलत गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नु पर्ने पक्षमा रहेको बताउँदै कारबाही निष्कर्षमा नपुग्दै  कसैलाई सफाइ पाएपछि पनि कामै गर्न नसक्ने बनाउने गरी समाचारको विषय बनाउन नहुने धारणा राख्नुभयो ।

सर्वोच्च अदालतका रजिष्टार निर्मला पौडेलले  अदालतको जनआस्था अभिवृद्धिमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । 

उहाँले अदालतका कर्मचारीहरूको व्यवहार सुधार गर्नुपर्ने आवश्यकता रहेको स्वीकार गर्दै जनआस्था अभिवृद्धिका लागि व्यवस्थापन पक्ष गम्भीरताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सह९रजिष्टार  एवम् प्रवक्ता विमल पौडेलले अदालतको कार्यसम्पादनले नै अदालतप्रतिको जनआस्था बढाउने भएकाले आफूहरू प्रयत्नशील रहेको बताउनुभयो ।

उहाँले अदालतप्रतिको स्वच्छ आलोचनाले सच्चिने अवसर दिने भन्दै नियत सफा राख्नेलाई अदालतले कहिले पनि अदालतको अवहेलनाका नाममा दुःख दिने मनसाय नराख्ने स्पष्ट पार्नुभयो ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष दुर्गा दुलालले अदालतको गरिमामा आँच ल्याउने सञ्चारमाध्यमको नियत नरहेको भन्दै सूचनामा सहज पहुँचको व्यवस्था  हुन सके गलत समाचार प्रकाशनको विषय उठान गर्नुपर्ने अवस्था नै नआउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button