पुल निर्माण सम्पन्न नहुँदा आवतजावतमा सास्ती
विराटनगर । पाँच वर्ष अघि बाढीले भत्काएको मोरङको लोहन्द्रा खोलाको पुल निर्माणको काम सम्पन्न नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
२०७४ सालमा आएको बाढीले बेलबारी नगरपालिका तथा ग्रामथान गाउँपालिकालाई जोडने खोलाको पक्की पुल बगाएको थियो ।

सुनसरी मोरङ सिचाई आयोजनाको स्वामित्वमा रहेको पुल निर्माण सम्पन्न नहुँदा त्यस भेगका आधा दर्जन पालिकाका मानिसलाई आवतजावतमा समस्या भएको छ ।
खोलामा बाढी आउँदा एक गाउँबाट अर्को गाउँ जान समस्या भएको ग्रामथान गाउँपालिका– ६ का रुद्र भण्डारीको भनाई छ । तीन वर्षदेखि बन्न थालेको सो पुलको कामले गति लिन नसकेको भन्दै चाडै पुलको काम सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै सोही पालिकाकी फुलकुमारी तामाङको गुनासो पनि उस्तै छ ।

पुल निर्माणका लागी आयोजनाले करिब ३० करोडमा लागतमा १ सय ५२ मिटर लामो सो पुल तीन वर्ष अघि ठेक्का लगाएको हो । पुल निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाइको छ । बाढी आउँदा पुलमा सिचाइका लागि बनाइएको साइफन समेत बाढीले भत्काएको थियो ।
आयोजनाका सव इन्जिनियर शम्भुप्रसाद मण्डलले पुल निर्माण सम्पन्न गर्ने अवधि अझै १४ महिना बाँकी रहेको बताउनुभयो । वर्षाका कारण अहिले काम केही ढिलो भएको उहाँको भनाई छ ।
बाढीले बगाएको दुई वर्षपछि पुल निर्माणको ठेक्का आसिश स्वामिनारायण आसिरर्वाद जेबी सुनसरी धरानले पाएको हो । यस्ता महत्त्वपूर्ण आयोजनाका काम चाँडै सम्पन्न गर्नु आवश्यक रहेको स्थानीयहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्