तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिको चासोसँगै जीर्णोद्धार हुँदै ‘जेठो गुरुकुल’

बर्दिबास । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय(गुरुकुल) को जीर्णोद्धार थालिएको छ । 

देशको ३०४ वर्ष पुरानो गुरुकुलको गत मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण गर्नुभएपछि सबैको चासो गुरुकुल प्रति बढेको थियो ।

मधेश प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको सहयोगमा गुरुकुलको प्राचीन संरचनाको मर्मत सम्भार थालिएको हो । गुरुकुलको मर्मतका मन्त्रालयबाट  ५० लाख बजेट विनियोजन गरिएको  छ । ढल्नै लागेको संरचना मर्मत सम्भारका लागि अहिले कामदारहरू खटिएका छन् । अहिले गुरुकुलको संरचना मर्मत सम्भार धमाधम भइरहेको छ भने नयाँ संरचनाहरू पनि ठडिँदै गरेको विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलले बताउनुभयो ।

गुरुकुलको जीर्णोद्धार सुरु भएसँगै विद्यालमा खुसीयाली छाएको छ । विद्यालयका प्रधानाध्यापक पौडेलका अनुसार गुरुकुलको प्राङ्गणमा रहेको एक सय वर्ष बढीका पुराननो भवनको जीर्णोद्धारको काम सुरु भएको छ ।

‘ओझेलमा परेको गुरुकुल बारेमा मिडियादेखि राष्ट्रप्रमुखले गुरुकुलको भ्रमण गर्नुभयो । सबैतिरबाट सद्भाव, चासो र चिन्ता जाहेर भयो । यसले गर्दा गुरुकुलले मुहार फेर्न अवशर पायो,’ खुसी हुँदै उहाँले भन्नुभयो ।   उहाँले संरचनाको पुरानै शैलीमा मर्मत सम्भार भइरहेको जानकारी दिनुभयो । 

मधेस प्रदेश सरकारले विद्यालयलाई संस्कृत विषयको अन्तर्राष्ट्रियस्तरको अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न नीति लिएको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमा त्यसका लागि पहिलो चरणमा २ करोड बजेट विनियोजन गरेको छ ।

सिद्ध सन्त तस्मैया बाबाका शिष्य जयकृष्ण दासले वि.सं. १७७५ मा मटिहानीमा गुरुकुलको स्थापना गर्नुभएको थियो । 

गुरुकुलको भौतिक संरचना निर्माणमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले बजेट दिएको छ । चार कोठे पक्की भवन निर्माणका लाग ३६ लाख बजेट दिएको छ । अहिले उक्त रकमबाट पनि भवन निर्माणको काम भइरहेको छ । 

त्यसैगरी प्रदेश सरकारकै सामाजिक विकास मन्त्रालयअन्तगर्तको शिक्षा समन्वय इकाइको २० लाखको सहयोगमा यहाँ हल निर्माण गरिएको छ । राज्यस्तरबाटै चासो जागेकोले गुरुकुलले छिट्टै मुहार फेर्ने मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button