दुधकोशीको कायाखेतमा बन्यो मोटरेबल पुल

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ रनेम र माप्य दूधकोशी गाउँपालिका ६ र ७ वाकु जोड्ने नवनिर्मित कायाखेत दुधकोशी मोटरेबल पुल सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् ।
निकै विकट मानिने वाकु क्षेत्रका लागि महत्त्वपूर्ण ३० टन भारबहन क्षमता रहेको ३६.५७ मिटर लामो पुल सञ्चालनमा आएपछि वाकुबासी खुसी भएका हुन ।
करिब साढे पाँच करोडको लागतमा जलप नेपाल कन्ट्रक्सनले निर्माण गरेको पुलमा सङ्घीय सरकार स्थानीय पूर्वाधार विकास साझेदारी कोषको एक करोड १० लाख रुपैयाँ, प्रदेश सांसद कोषको ५० लाख रुपैयाँ, प्रदेश सरकारको दुई करोड रुपैयाँ र बाँकी रकम माप्यदूधकोशी गाउँपालिकाको लगानी रहेको छ ।
यता प्रदेश सरकारले बजेट निकासा गर्न ढिलाइ गरेपछि निर्माण कम्पनीले उधारोमा पुल निर्माण गरिदिएको बताएको छ ।
गाउँपालिकाका अनुसार कम्पनीले एक करोड ३७ लाख रुपैयाँको हाराहारीमा भुक्तानी पाउनै बाँकी रहेको छ ।
पुल निर्माण भएसँगै वाकुको विकासमा दीर्घकालीन टेवा पुर्याउने सरोकारवालाले बताएका छन् ।
त्यस क्षेत्रका वडा अध्यक्षहरू सुजीगत राई र दिनेश राईले दुधकोशीमा निर्मित पुल सञ्चालनले वाकुवासीलाई यात्रा, सामाग्री ढुवानीका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने बताउनुभयो ।
पुलको निर्माणपछि हिउँद तथा वर्षायाममा समेत सहज आवतजावत हुने स्थानीय विनिता मगरले बताउनुभयो । यसले दैनिक उपभोग्य सामग्रीको समेत सहज ढुवानी हुने र सामानको मूल्य कम हुने उहाँको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्