तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा ६ हजार बढी मतदाता थपिए

डडेलधुरा । आगामी निर्वाचनका लागि जिल्लामा ६ हजार २ सय ६९ मतदाता थपिएका छन् । फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यक्रम अन्तर्गत डडेलधुरामा ९४ हजार ३ सय १४ को नाम दर्ता भएको छ । 

जिल्ला निर्वाचन कार्यालयले शुक्रवार छैटौँ निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा मतदाता थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । २०७८ असार सम्म डडेलधुरामा मतदाता सङ्ख्या ८८ हजार ४५ जना रहेको थियो । पछिल्लो तथ्याङ्क हेर्दा जिल्लामा आगामी निर्वाचनका लागि ६ हजार दुई सय ६९ मतदाता सङ्ख्या थपिएको हो । 

जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्य सुरु गरे पछि नयाँ मतदाता थपिएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिनु भएको छ । सात वटा स्थानीय तह रहेको डडेलधुरामा अमरगढी नगरपालिकामा १४ हजार २ सय २, परशुराम नगरपालिकामा २२ हजार ३ सय २७ जना मतदाता रहेको निर्वाचन अधिकारी अवस्थीले बताउनुभयो ।

यस्तै अजयमेरू गाउँपालिकामा १२ हजार २ सय ६३, आलिताल गाउँपालिकामा ११ हजार २ सय ७६, गन्यापधुरा गाउँपालिकामा १० हजार ९ सय ५८, नवदुर्गा गाउँपालिकामा १३ हजार ६ सय ८० र भागेश्वर गाउँपालिकामा ९ हजार ८ जना मतदाता रहेका छन् । 
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रदेशसभा तर्फ भने दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । डडेलधुरामा ८० वटा मतदान स्थल र १ सय १० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार डडेलधुराको कुल जनसङ्ख्या १ लाख ३९ हजार ४ सय २० रहेको छ । २०६८ सालको जनगणना अनुसार डडेलधुराको कुल जनसङ्ख्या १ लाख ४२ हजार ९४ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button