तपाईँ सुन्दै हुनुहुन्छः

कठ्याङ्ग्रिँदो जाडोपछि मध्य तराईमा पहारिलो घाम, जनजीवनमा राहत

बीरगंज । एक सातादेखि कठ्याङ्ग्रिँदो जाडो र शितलहरले प्रभावित मध्य तराईका बारा, पर्सा, रौतहटमा आज दिउँसो पहारिलो घाम लागेपछि राहत पुगेको छ । 

एक सातादेखि अत्याधिक जाडो तथा शितलहरले विशेष गरी  विपन्न वर्ग तथा दलित समुदायका महिला बालबालिकाहरू बढी प्रभावित भएका थिए । 

जाडोका कारण घरबाट बाहिर निस्कन नसक्ने व्यक्तिहरू समेत आज घरको छत तथा खुला स्थानमा निस्केर घाम तापिरहेका छन् । 

घाम नलाग्दा घर घरमा लामो समयदेखि फोहर रहेका कपडाहरू धुन गृहणीहरुलाई भ्याई नभ्याई भएको थियो । घाम लागेपछि वीरगंज लगायतका बजारमा आज उपभोक्ताहरूको भिड रहेको छ । 

त्यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरूमा समेत सेवाग्राहीहरूको सङ्ख्या बढेको छ । 

जिल्ला प्रशासन कार्यालय पर्सामा समेत सेवाग्राहीको सङ्ख्या एक साताको तुलनामा आज अत्याधिक रहेको पर्सा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । 

उता बारामा सेवाग्राहीहरू विभिन्न सरकारी कार्यालयमा कामका लागि आउनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जानकारी दिनुभयो । 

बारा पर्सा तथा रौतहटका ग्रामीण क्षेत्रका सरकारी तथा निजी विद्यालयहरू दुई दिनदेखि अत्याधिक बढेको जाडोको कारण बन्द रहे पनि बीरगंज तथा नगर क्षेत्रका विद्यालयहरू भने सञ्चालनमा रहेका छन् । 

आज घाम लागेपछि विद्यालयमा  पढ्ने स–साना बालबालिकाहरूलाई समेत राहत पुगेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button