सप्तरीमा निषेधाज्ञाको पहिलो दिन चहल पहल घट्यो
सप्तरी । सप्तरीमा मगलवारदेखि सात दिने निषेधाज्ञा सुरु भएको छ । जिल्ला सुरक्षा समितिको सोमवार वसेको वैठकको निर्णय अनुसार सप्तरी जिल्लाभरी निषेधाज्ञा जारी भएको हो । सप्तरीमा कोरोना संक्रमितको संखया ५ सय ३१ पुगेको र सदरमुकाम राजविराज नगरपालिकामा एक जनाको मृत्यु समेत भइसकेकाले सजगता अपनाउन निषेधाज्ञा जारी गरिएको हो ।
संक्रमणको बिस्तारलाई रोक्न तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरु आवश्यक रहेकाले कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि अत्यावश्यक कार्य बाहेकका कार्य नगर्न र नगराउन आदेश गरिएको छ ।
आदेश जारी भएपछि मंगलवार विहानैदेखि सदरमुकाम राजविराज सहित भारदह, कंचनपुर, रुपनगर, फत्तेपुर तथा पुर्व पश्चिम राजमार्गमा समेत चहलपहल कम छ । रुपनगर, कंचनपुर लगायतका स्थानमा सिटि रिक्सा, मोटरसाईकल लगायतका सवारी साधन फाट्टफुट्ट चलेका छन् भने भारदका १ र २ वटा किराना र पान पसल खुलेको स्थानीयले जानकारी दिएका छन ।
ग्रामिण वजारहरुमा पनि सर्वसाधारणको चहलपहल खासै देखिएको छैन । फत्तेपुर वजार पुर्ण रुपमा वन्द रहेको स्थानीय दिपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
निषेधाज्ञा जारी भएपछि अत्यावस्यक काम वाहेक सर्वसाधारणको चहलपहल नदेखिएको स्थानीयहरुको भनाई छ ।
औषधी पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, वैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवा र स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न र नगराउन निषेधाज्ञामा उल्लेख छ ।
आदेशको उल्लंघन गर्ने ब्यक्तिलाई कानुन वमोजिम कारवाही गरिने जनाईएको छ । उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए वमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्वन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्न र गराउन जानकारी गराईएको छ । अन्यथा प्रचलित ऐन, नियम कानुन वमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्