तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजमा एकै परिवारमा थपिए चार जना नयाँ कोरोना सङ्क्रमित

सप्तरी । स्वाब परीक्षण रिपोर्टमा एकै परिवारका चारसहित सात जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो रिपोर्ट अनुसार राजविराज ६ मा चिया नास्ता पसल सञ्चालन गर्दै आएको एउटै परिवारमा चार जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या चार सय १८ पुगेको छ । ६९, २९ र २२ वर्षीय पुरुष तथा ४० वर्षीय महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसै गरी, राजविराज ६ कै ३० वर्षिया महिला, राजविराज ९ की ५५ वर्षिया महिला र राजविराज नगरपालिका ७ का ७० वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले बताउनुभयो ।

गत साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षीय व्यापारीको छिमेकमै रहेको चिया नास्ता पसलका एकै परिवारका चारसहित तीव्र रूपमा कोरोना सङ्क्रमित थपिन थालेपछि थप निर्णय गर्न लागिएको यादवले जानकारी दिनुभयो ।

कोरोनाका सङ्क्रमित तीव्र रूपमा थपिन थालेपछि थप जोखिम आउन नदिन स्थानीय प्रशासनले राजविराज नगरपालिका वडा नं. ६ लाई केन्द्रित गरेर थप निर्णय लिने तयारी गरेको छ । आवश्यकता अनुसार सिल गर्ने निर्णयसम्म हुन सक्ने श्रोतले बताएको छ ।

कोरोनाका कारण वडा नं. ६ बढी नै प्रभावित देखिएपछि शुक्रवार जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर थप निर्णय हुन सक्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले हालसम्म वडालाई सिल गर्ने निर्णय भइनसकेको जानकारी दिनुभयो । ‘बिहीबारदेखि नगर क्षेत्रमै निषेधाज्ञा जारी छ । सिल गर्ने भन्दा पनि अवस्था हेर्दा कन्ट्याक्ट ट्रेसिङ्गको दायरा बढाउनु पर्ने अवस्था छ’ उहाँले भन्नुभयो –‘कन्ट्याक्ट ट्रेसिङ्गले समेत नभ्याएको अवस्थामा अन्य विकल्प खोजेर पनि समुदायमा सङ्क्रमण बढ्न नदिने गरी काम गरिन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button