बाढीले टयाक्टर बगाउँदा एक महिने शिशुको मृत्यु
वीरगञ्ज । ठोरी–माडी भरतपुर सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलामा आएको बाढीले ट्याक्टर बगाउँदा नवजात शिशुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुर जिल्ला निवासी सन्तोष र निरुता सुनारका एक महिनाका छोरा रहेका छन् ।
कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ सरस्वतीनगरस्थित निरुताको माइती घरमा आउने क्रममा गएराति १० बजेको समयमा टिउकी खोलामा आएको बाढीले टयाक्टर बगाउँदा शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
चितवनको भरतपुरबाट माडी हुदै ठोरी आएको बस राष्ट्रिय निकुञ्जको टिउकी खोलामा फसेपछि सो बसमा सवार यात्रुको उद्धारका लागि ठोरीबाट आएको ट्याक्टरमा यात्रुलाई राख्दै गर्दा अचानक खोलामा आएकोबाढीले टयाक्टर बगाउने क्रममा सन्तोषकी श्रीमती निरुताको काखबाट एक्कासी खोलामा खस्न पुगेका शिशु बेपत्ता भएको र सन्तोष, निरुता लगायत अन्य यात्रुलाई भने नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको ठोरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रामप्रकाश कुँबरले जानकारी दिनुभयो ।
सुत्केरी खानका लागि कञ्चनपुरबाट निरुता सुनार माईत ठोरी आउने क्रममा सो घटना भएको थियो ।
रातभर अविरल वर्षा र बाढीका कारण आज बिहान मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोलामा बेपत्ता शिशुको शव फेला पारेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्