नेकपाको संगठन विभागमा हेमराज भण्डारी र ज्ञान बहादुर भुजेल सिफारिस

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा धनकुटाका हेमराज भण्डारीसहित २ जना जना थप गर्न सिफारिस गरेको छ । हालै सम्पन्न भएको स्थायी कमिटीको बैठकले नेकपाको सबैभन्दा शक्तिशाली मानिने संगठन विभागमा भण्डारी सहित ज्ञानबहादुर भुजेललाई सिफारिस गर्ने निर्णय गरेको नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए ।
भण्डारी नेकपाको केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज हुन । भण्डारी तीन दशक यता राजनितीमा सक्रिय छन । नेकपा मसालबाट राजनितिक यात्रा सुरु गरेका भण्डारी तत्कालिन नेकपा माओवादीले गरेका जनयुद्ध हुँदै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । नेकपा एमाले र माओवादी केन्द्रको एकताअघि भण्डारी माओवादी केन्द्रको संगठन विभाग सचिव तथा पोलिटव्युरो सदस्य रहेका थिए । यस्तै भुजेल तत्कालिन एमालेका संगठन विभाग सचिव रहेका थिए ।
दुई जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग १८ सदस्यीय हुने भएको छ । नेकपाको संगठन विभाग गठनको क्रममा प्रमुख वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए । ०७६ असोज २९ गते बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको थियो ।
यस्तै ०७६ माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठक लगत्तै संगठन विभाग विस्तार गरिएको थियो । विभागको उपप्रमुखमा कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा रहेको असोज २९ गतेको सचिवालय बैठकबाट बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य भइसकेकाले माघ १९ गते बसेको सचिवालय बैठकले अन्य ५ प्रदेशका इन्चार्जसहित केही व्यक्तिलाई थपेर १५ सदस्यीय बनाइएको थियो । त्यसबेला थपिएकाहरुमा प्रदेश ५ का इञ्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सुदुरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल, प्रदेश १ का इञ्चार्ज भीम आचार्य र प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डल रहेका थिए । यस्तै माघ १९ कै सचिवालय बैठकले संगठन विभागमा सुदन किराती, जगप्रसाद शर्मा, मातृका यादव, खगराज भट्ट र रेखा शर्मालाई पनि संगठ विभाग सदस्य बनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्