तपाईँ सुन्दै हुनुहुन्छः

बारा र पर्साका थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परीक्षणको रिपोर्टमा बारा र पर्साका थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थप सङ्क्रमितमा पर्साका २६ जना र बाराका १९ जना रहेको र सङ्क्रमितहरू मध्ये सुरक्षाकर्मी र बैङ्कका कर्मचारीसमेत रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसीयाले जानकारी दिनुभयो ।

बिहीबार प्रयोगशालामा पाँच सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो ।

सङ्क्रमित मध्ये १८ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेको र ती मध्ये १० जना महिला रहेको डा.चौरसीयाले बताउनुभयो ।

सङ्क्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ भन्दा कम छ । भने १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ । डा.चौरसियाका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण रहेको बताइएको छ ।

सङ्क्रमित मध्ये १९ जना बीरगंजका रहेका छन् । वीरगन्जस्थित नबिल बैङ्कमा कार्यरत पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । उनीहरू ३७, ३२, २६, २७ र २१ वर्षीय पुरुष हुन् । वीरगञ्जको वडा नं. ९, १०, ११, १४ र २२ मा २÷२ जना र वडा नं. ८, १५ र २१ मा १÷१ जनामा कोरोना संक्रमण देखिएको डा.चौरसीयाले बताउनुभयो ।

त्यसै गरी पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मा दुई जना, वडा नं. ३ मा १ जना, सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४ मा २ जना, वडा नं. ५ मा एक जना र पटेर्वासुगौलीमा एक जनाको पीसीआर पोजेटिभ देखिएको छ ।

यता बाराको निजगढ नगरपालिकाले पठाएको स्वाबका नमुना परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ । निजगढ नगरपालिकाको वडा नं. ८ मा दुई जना, वडा नं. ३, ७ र ९ मा एक÷एक जनामा कोरोना संक्रमण देखिएको डा.चौरसीयाले बताउनुभयो ।

यसै गरी इलाका प्रहरी कार्यालय निजगढका ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका ६ जना र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसै गरी कामना विकास बैङ्क निजगढमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल बीरगंजका प्रवक्ता चौरसीयाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button