तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विशेष अस्पतालमा जनशक्ति र बजेट थप गर्ने प्रदेश सरकारको निर्णय

रुपन्देही । प्रदेश ५ सरकारले प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा जनशक्ति र बजेट थप गरेको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाका लागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती कर्मचारीलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन बजेट स्वीकृत गरिएको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ५ सय ८३ जना कर्मचारी र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट थप हुनेछ ।

प्रदेश सरकारले स्वीकृत गरेको तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेटमध्ये लुम्बिनी प्रादेशिक बुटवलका लागि एक करोड ७५ लाख ११ हजार ९ सय, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय, केन्द्रीय आयुर्वेद अस्पताल बेलझुण्डी दाङका लागि एक करोड ५६ लाख ७२ हजार ३ सय र भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल मातहतको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।
यो अस्पतालमा आईसीयू बेड १८, एचडी (आईसीयूभन्दा केही कम सुविधा हुने) बेड २०, आइसोलेन बेड ३६ गरी ७४ बेड थपिनेछन् ।

कोरोना विशेष अस्पताल बुटवलले जनशक्ति र बेड कम भएका कारण उपचार नपाएर बिरामीको मृत्यु भएको भन्दै सामाजिक मन्त्रालयलाई सुविधा थप गर्न अनुरोध गरेको थियो ।

प्रदेश सरकारको निर्णयअनुसार भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति थप गर्ने निर्णय भएको छ ।

भीम अस्पतालमा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ बेड र बेलझुण्डीमा आईसीयू १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहनेछन् । भीममा अहिले ५ वटा आइसीयू बेड रहेका छन् र अरु बेड थपिनेछन् ।

यस्तै भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति राख्ने निर्णय भएको छ । भेरी अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button