तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पीडितका घर घरमा अनुगमन टोली

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आफ्नो पालिकाभित्रको जोखिम बस्तीहरूको अनुगमन थालेको छ । अनुगमनको क्रममा कुनै बस्ती जोखिम भएमा तत्काल के गर्न सकिन्छ त्यसको तयारीमा लाग्ने नगरपालिकाले बताएको छ ।

बाढी पहिरोको उच्च चपेटामा परेको सिन्धुपाल्चोकको हरेक क्षेत्र जोखिम छ । मानिसहरू अझै पनि जोखिम मोलेर बस्न बाध्य छन् । गत साउन ३ गते आएको पहिरोले मेलम्ची नगरपालिका–४ अमलेका १४ घर जोखिममा परेका छन् । पहिरोले घरमा पुरै क्षति पुर्‍याएको छ । अरूको घरमा शाहारा लिएर बस्नु परेको स्थानीय माधवराज खनालको गुनासो छ ।

२०७२ सालको भूकम्प पछि सरकारले दिएको ३ लाख रुपियाँ अनुदानमा सुरक्षित आफ्नो जग्गामा घर बनाएका उनीहरूले अहिले अरूको जग्गामा छाप्रो हालेर बस्न बाध्य छन् । अब पक्की घर बनाएर बस्ने जग्गा पनि छैन । बेलैमा बस्ती स्थानान्तरण भए ज्यान बच्ने मेलम्ची–४ का स्थानीय राम प्रसाद न्यौपानेले बताउनु भयो ।

नगरपालिका भित्रका वडा नम्बर १, २, ३, ४, ७ र ८ का वडाहरूमा नगरले अनुगमन गरेको नगरपालिकाले जनाएको छ । बाँकी वडाहरूको अनुगमन जारी छ । अनुगमनका क्रममा जोखिम भेटिएका घर तथा बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने नगरपालिकाले जनाएको छ । सार्नु पर्ने बस्ती तथा घर हरलाई प्रदेश र केन्द्रीय सरकार सँग समन्वय गरेर काम अगाडि बढाउने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

बाढी पहिरोले वितण्डा मच्चाइरहेको सिन्धुपाल्चोकमा बेलैमा स्थानीय तहहरूले सजग भई क्षति न्यूनीकरण गर्न सुरक्षित ठाउँको खोजी गरी स्थानान्तरणको काम सुरु गर्न जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button