गजेन्द्रनारायण सिंह अस्पतालद्वारा आयव्यय सार्वजनिक

सप्तरी । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले वार्षिक समीक्षा गोष्ठी मार्फत अस्पतालको मोटामोटी खर्च विवरण सार्वजनिक गरेको छ ।
आइसोलेसन व्यवस्थापन तथा समग्र खर्चको विषयलाई लिएर व्यापक असन्तुष्टि बढ्न थालेपछि अस्पतालले खर्च विवरण सार्वजनिक गरेको हो । निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झाले प्रस्तुत गरेको विवरण अनुसार अस्पतालको कुल ३ करोड ५७ लाख ९६ हजार बजेट मध्ये १ करोड ३६ लाख ९० हजार १२ रुपैयाँ जोखिम भत्ता र तलवभत्तामा मात्रै खर्च भएको छ ।
सङ्घीय सरकारले कोरोना नियन्त्रणका लागि फ्रण्ट लाइनमा खटिने स्वास्थ्यकर्मीका लागि तोकेको जोखिम भत्ता १ करोड २९ लाख २० हजार ५ सय २४ रुपैयाँ तथा पिसिआर ल्याबमा कार्यरत कर्मचारी र अन्य स्टाफको तलवभत्ता गरी कुल १ करोड ३६ लाख ९० हजार रुपैयाँ तलब भत्तामा खर्च भएको निमित्त मेसु झाले बत्ताउनुभयो ।
अस्पताललाई प्रदेश २ सरकारले विभिन्न समयमा गरी ६१ लाख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न समयमा गरी कुल २ करोड ३५ लाख ७६ हजार तथा जनशक्ति व्यवस्थापनका लागि राजविराज नगरपालिकाले २५ लाख रुपैयाँ उपलब्ध गराएका थिए ।
कोरोना व्यवस्थापन लगायतका विभिन्न शीर्षक सहित अस्पतालमा रहेको कुल ३ करोड ५७ लाख ९६ हजार बजेट मध्ये ३ करोड २९ लाख ५७ हजार १९४ रुपैयाँ खर्च भएको छ । खर्च मध्ये सङ्घीय सरकारको निर्देशन अनुसार जोखिम भत्ता १ करोड २९ लाख २० हजार ५ सय २४ रुपैयाँ, तलवभत्ता ७ लाख ६९ हजार ४८८ रुपैयाँ र जनशक्ति व्यवस्थापनतर्फ ५९ हजार ९ सय १ रुपैयाँ खर्च भएको झाले जानकारी दिनुभयो ।
हाल विकास समितिको खातामा ११ लाख ३९ हजार ८ सय ८८ र कोष तथा लेखा नियन्त्रक कार्यालयको एकल कोष मौज्दात खातामा १५ लाख २६ हजार ४ सय ९ रुपैयाँ गरी कुल २६ लाख ६६ हजार २९७ रुपैयाँ मौज्दात छ । १ लाख ७२ हजार ५ सय ७ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको उहाँले बत्ताउनु भयो ।
प्रदेश सरकारद्वारा उपलब्ध रकम मध्ये पिसिआर ल्याबमा कार्यरत कर्मचारीको तलवभत्तामा ७ लाख ५९ हजार ४८८, ल्याब पार्टेशनमा ४ लाख ६६ हजार १२०, आइसोलेसन व्यवस्थामा खटिएका कर्मचारीको खानामा ९४ हजार, औषधी खरिदमा १० लाख, पिसिआर ल्याब तथा आइसोलेसन व्यवस्थापनमा २५ लाख ५५ हजार ३५१ गरी कुल ४९ लाख ६० हजार १११ रुपैयाँ खर्च भएको छ । पिसिआर ल्याब तथा आइसोलेसन व्यवस्थापन शीर्षकमा फर्निचर, एसी, पावर ब्याकप, भाँडाकुँडा, कम्प्युटर लगायतको मर्मत तथा व्यवस्थापनका खर्च समावेश भएको अस्पतालले जनाएको छ ।
यसै गरी, स्वास्थ्य मन्त्रालयबाट प्राप्त रकम मध्येबाट औषधी, पिपिइ तथा सर्किजल समान खरिदमा ९ लाख ९७ हजार ८१९, अक्सिजन ग्यास खरिदमा ९ लाख ९९ हजार ३४०, बिरामी बेड, औषधी, आईसोलनसन व्यवस्थापन तथा विविध खर्चमा ८ लाख ८० हजार ६९५, कर्मचारी विज्ञापन सूचना तथा एफएमवाट जनचेतना मूलक प्रचार प्रसारमा २२ हजार १ सय, जोखिम भत्ता १ करोड २९ लाख २० हजार ५२४, पिसिआर ल्याब रिएजेन्ट, भिटिएम लगायतका अन्य सामग्री टेन्डर भुक्तानी ४९ लाख ९९ हजार ५१३, आइसोलेसन बिरामी खानारखाजा, आइसोलेसन स्टाफ खाना÷खाजा, स्टाफ क्वारेनटाइन, पिसिआर स्टाफ खाजामा १९ लाख ३ हजार ५ सय गरी कुल २ करोड २७ लाख २३ हजार ४९२ रुपैयाँ खर्च भएको झाले बत्ताउनुभयो ।
यसै गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत महालेखा नियन्त्रकको कार्यालयद्वारा कोलेनिकाको विविधि कोषवाट प्राप्त रकम मध्ये आइसोलेसन बिरामी र स्टाफको खाना र खाजा, स्टाफ क्वारेनटाइन पिसिआर स्टाफ खाजामा २१ लाख १३ हजार ८ सय १, एम्बुलेन्स शोधभर्ना ७१ हजार २ सय, पिपिई, सरसफाइ समान, मर्मत, इन्धन, औषधी, विद्युत् सामग्री लगायतमा १८ लाख ३१ हजार ५५, बिरामी बेड ९ लाख ३६ हजार ६ सय र ल्याब पार्टेसन, एम्बुलेन्स पार्टेसन, जनशक्ति पदपूर्ति व्यवस्थापनमा ३ लाख २० हजार ९३५ गरी कुल ५२ लाख ७३ हजार ५९१ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।
अस्पतालले गरेको खर्च मध्ये आइसोलेसन व्यवस्थापन र बिरामीको खाना खर्चका विषयमा पनि अस्पतालले जानकारी दिएको छ । आइसोलेसनमा एक छाक खाना खर्च १५१ र अण्डा ३० गरी १८१ रुपैयाँ र खाजा र चियामा १२५ रुपैयाँ खर्च निर्धारण भएको छ । जसमध्ये असार ३१ गतेसम्म ११ हजार छाक खाना तथा ५ हजार ५ सय छाक नास्ता र चियामा खर्च भएको निमित्त मेसु झाले बत्ताउनु भयो ।
यस बाहेक आइसोलेसनको प्रत्येक सिफ्टमा २ जना डाक्टर, ३ जना नर्स, २ जना ल्याब स्टाफ, १ जना मेडिकल रेकर्डर, ४ जना अफिस हेल्पर, १ जना भान्से, १ जना बिजुली मिस्त्री र १ जना ड्राइभर गरी १५ जना स्टाफको खर्च पनि त्यसै अन्तर्गत परेको झाले बत्ताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्