बैतडीमा पाठ्यपुस्तक अपुग

बैतडी । बैतडीमा पाठ्यपुस्तक अपुग भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाका विद्यालयमा केही विषयका पाठ्यपुस्तक अपुग भएका हुन् ।
कक्षा ६ देखि ८ सम्मका अङ्ग्रेजी, विज्ञान, सामाजिक अध्ययन, नैतिक शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र कम्प्युटर विषयका पाठ्यपुस्तक अभाव भएका हुन् ।
ढुवानीको जिम्मा पाएको पुस्तक पसलले लकडाउनका कारण ल्याउन नसकेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।
लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरूले घरमै बसेर पनि अध्ययन गर्नको लागि पाठ्यपुस्तक नहुँदा समस्या भएको मणिलेक मावि गुरु खोलाका प्रधानाध्यापक केशवदत्त भट्टले बताउनुभयो ।
पाठ्यपुस्तक अपुग हुँदा बिद्यार्थीहरुलाई अध्ययनका लागि समस्या भएको दशरथचन्द नगरपालिका–४ जर्गका विद्यार्थी अनिलकुमार लोहियाले बताउनुभयो ।
वैशाखमै पाठ्यपुस्तक पुग्नु पर्ने भए पनि कोरोना महामारीका कारण लकडाउन गरिएकालाई शैक्षिक सत्रनै सुरु नभएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थाको भनाई रहेको छ ।
शैक्षिक सत्र पनि सुरु नभएको र भर्ना अभियान पनि सुरु नभएकोले पाठ्यपुस्तक ल्याउन पनि ढिलाइ भएको उहाँको भनाई रहेको छ ।
विद्यार्थीले कक्षाकोठा प्रवेश गर्दा अनिवार्य पाठ्यपुस्तक आवश्यक पर्ने भएकोले कक्षा सुरु हुँदा सम्म अपुग पाठ्यपुस्तक पुग्ने उहाँले बताउनभयो ।
साउन १ गतेदेखि भर्ना अभियान र साउन १५ गतेदेखि कक्षा सञ्चालन गर्ने भनिए पनि सरकारले निर्णय नगर्दा अन्यौलता बढेको प्रमुख अवस्थाको भनाई छ ।
सरकार कहिले देखि कक्षा सञ्चालन गर्न भन्यो त्यही अनुसार अगाडी बढ्ने शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ ।
सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक दिदैं आएको छ । बैतडीका कक्षा १ देखि ५ सम्मका तीन ३६ विद्यालयमा ३७ हजार चार सय ९५ विद्यार्थी अध्ययनरत रहेका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो । ।
यस्तै कक्षा ६ देखि ८ सम्मका १०५ विद्यालयमा १९ हजार एक सय ३२ विद्यार्थी, कक्षा ९ र १० का ७१ विद्यालयमा ११ हजार छ सय ३३ विद्यार्थी र कक्षा ११ र १२ का ५० विद्यालयमा तीन हजार तीन सय ९५ विद्यार्थी अध्ययनरत रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्