सरकारको वेबसाइटसहित सामाजिक सञ्जाललगायतको सुरक्षाप्रति सजग रहन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले सरकारको आधिकारिक इमेल, वेबसाइट र सामाजिक सञ्जाललगायतको सुरक्षा र गोपनीयतामा सजग रहन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले सरकारी वेबसाइट अनिवार्य अडिट गर्न र निजी क्षेत्रले दर्ता गर्ने सरकारी डोमेन नेम सरकारी निकायबाट गर्ने व्यवस्था मिलाउन र नेपालभित्र प्रयोग गरिने एप्स तथा सामाजिक सञ्जालहरूको सुरक्षा, गोपनीयता र उपयोगिताको नियमन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले सबै सामुदायिक विद्यालयका माध्यमिक तह, सबै स्थानीय तह, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, साइबर सुरक्षामा ध्यान दिँदै सूचना प्रविधि आकस्मिक सहायता केन्द्रलाई सक्रिय बनाउने, सरकारी निकायभित्रका सूचना र प्रविधिलाई सुरक्षित बनाउन सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने लगायतका विषयमा जोड दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्