दनुवार संस्कृति, मौलिक परिकार र पहिचानको सङ्गम बन्दै ‘न्वाङ्गी महोत्सव’
उदयपुर । दनुवार समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले उदयपुरमा राष्ट्रिय पर्व ‘न्वाङ्गी’ तथा तेस्रो दनुवारी खाना परिकार एवं सांस्कृतिक उत्सव–२०८३ आयोजना हुने भएको छ।
जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित बैरेनी चौरमा आगामी मङ्सिर २५ देखि २७ गतेसम्म उक्त उत्सव सञ्चालन हुनेछ। दनुवार समुदायको ऐतिहासिक पहिचान, मौलिक खानाका परिकार, भेषभूषा, कला तथा सांस्कृतिक परम्पराको प्रदर्शन र प्रवर्द्धनलाई उत्सवको मुख्य आकर्षण बनाइने आयोजकले जनाएको छ। लोप हुँदै गएका मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने लक्ष्यसमेत उत्सवले राखेको छ।

उत्सवलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आइतबार त्रियुगा नगरपालिका–८ बैरेनीस्थित दनुवार सामुदायिक भवनमा बसेको तयारी बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले दनुवार जागरण समिति जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष कृष्णराज दनुवारको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ।
त्यसैगरी, उत्सवको तयारी तथा व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएका छन्। आर्थिक समितिको संयोजकमा जीवस दनुवार, प्रचारप्रसार समितिमा उर्मिला दनुवार, सांस्कृतिक व्यवस्थापन समितिमा रविन दनुवार, महोत्सव व्यवस्थापन समितिमा गुणराज दनुवार तथा युवा परिचालन एवं व्यवस्थापन समितिमा किरण दनुवारलाई जिम्मेवारी दिइएको छ।
यसपटकको उत्सवलाई सांस्कृतिक प्रदर्शनमा मात्र सीमित नराखी समुदायको दीर्घकालीन पहिचान संरक्षणसँगसमेत जोड्ने निर्णय गरिएको छ। बैठकले दनुवार समुदायको भाषा, संस्कृति, इतिहास र परम्पराको संरक्षणका लागि ‘दनुवार सांस्कृतिक सङ्ग्रहालय’ स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सङ्ग्रहालय स्थापनाका लागि आवश्यक अवधारणापत्र र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने जिम्मेवारी अनन्तकुमार दनुवारको संयोजकत्वमा गठित व्यवस्थापन तथा सञ्चालन समितिलाई दिइएको छ।
यसका साथै, समुदायका नागरिकलाई निर्वाचन प्रक्रियामा थप सहभागी गराउने उद्देश्यले मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गरिने भएको छ। अभियानअन्तर्गत गाउँबस्तीमै अनलाइन फाराम भर्ने व्यवस्था मिलाउनुका साथै बायोमेट्रिक विवरण दिनुपर्ने नागरिकलाई जिल्ला निर्वाचन कार्यालयसम्म पुग्न यातायातको सहज व्यवस्था गर्ने निर्णयसमेत भएको छ।
बैठकमा नेपाल दनुवार समाज उदयपुर, दनुवार महिला समाज सुधार सङ्घ उदयपुर, दनुवार जागरण कोशी प्रदेश, दनुवार जागरण समिति उदयपुर, महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुर, साधना सांस्कृतिक कला समूह, आदिम चौतारलगायत विभिन्न संस्थाका प्रतिनिधि, समाजसेवी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।
उत्सवको तयारीलाई थप प्रभावकारी बनाउन मूल आयोजक समिति र विभिन्न कार्यक्रमका संयोजकहरूको संयुक्त बैठक आगामी कात्तिक ३० गते बस्ने नेपाल दनुवार समाज उदयपुरका अध्यक्ष केदार दनुवारले जानकारी दिनुभएको छ।
तीन दिनसम्म सञ्चालन हुने यस उत्सवले दनुवार समुदायको मौलिक संस्कृति र खानाका परिकारलाई सार्वजनिक रूपमा परिचित गराउनुका साथै सांस्कृतिक पहिचानको संरक्षण, पुस्तान्तरण र सामाजिक एकतामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्