शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । “शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला”, विभागका मौसमविद् डेभिड ढकालले बताउनुभयो ।
भारतमा शक्तिशाली चक्रवात ‘अर्नब’ बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भए पनि नेपाल प्रवेश गर्दा कमजोर भएकाले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको असर भने सामान्य रहेको विभागले जनाएको छ ।
उहाँका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । “आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ”, उहाँले भन्नुभयो ।
विभागका अनुसार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ । सो अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर मापन भएको छ ।
यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्