अछाममा हावाबाट बिजुली निकाल्ने प्रविधि अलपत्र, सात वर्षदेखि प्लान्ट बन्द
अछाम ।अछामको कमलबजारमा स्थापित सुदूरपश्चिमकै पहिलो वायु तथा सौर्य ऊर्जा प्लान्ट विगत सात वर्षदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ। २०७४ सालमा निर्माण सुरु भई सोही वर्षदेखि विद्युत उत्पादन थालिएको उक्त प्लान्ट सञ्चालन आएको दुई वर्षमै बिग्रिएपछि हालसम्म थप्प बनेको हो।

नेपाल सरकारको १ करोड र कमलबजार नगरपालिकाको रु. ३० लाख गरी कुल रु. १ करोड ३० लाखको लागतमा ३१ किलोवाट क्षमताको यो वायु ऊर्जा प्लान्ट निर्माण गरिएको थियो। सुरुवातका दिनमा कमलबजार आसपासका करिब ५ सय घरधुरीलाई उज्यालो दिएको र नमुना परियोजनाका रूपमा पर्यटकको आकर्षण बनेको यो स्थान हाल भने सुनसान प्रायः बनेको छ।

स्थानीय व्यवसायी मिलन नेपालीका अनुसार प्लान्ट बन्द भएपछि अवलोकनका लागि आउने आन्तरिक पर्यटकको आवतजावत रोकिएको छ, जसका कारण स्थानीय व्यापार–व्यवसायमा समेत मन्दी छाएको छ। प्लान्ट बिग्रेको लामो समय बितिसक्दा पनि यसको पुनः सञ्चालनका लागि कसैले ध्यान नदिएको उहाँको गुनासो छ।
तत्कालीन समयमा वायु ऊर्जा रेखदेखको जिम्मेवारी सम्हालेका प्राविधिक शिवराज अधिकारीले कमलबजारमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै यो आयोजना ओझेलमा परेको बताउनुभयो। जनप्रतिनिधिहरूले चासो नदिँदा भौतिक संरचना र बहुमूल्य सामग्रीहरू बिग्रिने जोखिम बढेको उहाँको भनाइ छ।

स्थानीय लोकबहादुर भण्डारीले वायु ऊर्जा प्लान्ट मर्मत गरी सुचारु गर्न सके नगरपालिका तथा अन्य सरकारी-गैरसरकारी कार्यालयहरूमा प्रयोग गर्न सकिने र केन्द्रीय प्रसारण लाइनको उत्तम विकल्प बन्न सक्ने सुझाव दिनुभयो।
कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले भने प्लान्ट मर्मतका लागि यस वर्ष रु. ५ लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। साथै आयोजनालाई पुनः सञ्चालनमा ल्याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग पनि आवश्यक सहयोग मागिएको उहाँले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्