अन्तर्राष्ट्रिय मञ्चमा जलवायु कूटनीति प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ। सांसदहरूले अन्तर्राष्ट्रिय समुदायसमक्ष हिमाल संरक्षण र जलवायु कूटनीति अझ प्रभावकारी बनाउन द्विपक्षीय तथा बहुपक्षीय वार्तालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आज बसेको बैठकमा सांसदहरुले जलवायु परिवर्तनबाट नेपाललाई भएको हानिको क्षतिपूर्ति, जलवायु न्याय र जलवायु वित्त सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी कूटनीतिक पहल अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद् सम्बन्धि छलफलमा सांसदहरुले प्रभावित क्षेत्रका ऐतिहासिक मन्दिरको संरक्षण तथा पर्यटन व्यवसायको पुनर्स्थापनाका लागि आवश्यक नीतिगत सुधारमा ढिलाइ गर्न नहुने बताउनुभयो ।
बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपाल–चीनबीच आयात–निर्यात सहजीकरणका लागी वैकल्पिक व्यापारिक नाकाको विकास र विपद् पूर्वसूचना प्रणाली सम्बन्धि सहकार्यलाई प्राथमिकता दिइएको जानकारी गराउनुभयो ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिहरूले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित पर्यटकहरूको तथ्याङ्क यथार्थपरक बनाउन सम्बन्धित सबै मन्त्रालयहरूबीच समन्वय अझ सुदृढ बनाइने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्