तपाईँ सुन्दै हुनुहुन्छः

१५ वर्षपछि कमला पुल निर्माणले गति लिएपछि: धनुषा र सिरहाका बासिन्दामा खुसीयाली

जनकपुरधाम। धनुषा र सिरहालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा निर्माणाधीन पुलको पुनर्निर्माणले गति लिएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। उद्घाटनको अन्तिम चरणमा पुगिसकेका बेला करिब चार वर्षअघि आएको बाढीले पुल भासिएपछि स्थानीय निराश बनेका थिए।

अधुरा आयोजना निर्माणमा सरकारले कडाइ गरेसँगै कमला पुलको कामले पुनः तीव्रता पाएको हो। करिब १५ वर्षअघि निर्माण सुरु गरिएको यो पुल समयमा नबन्दा स्थानीय बासिन्दा वारपार गर्न भारतको बाटो वा पूर्व–पश्चिम राजमार्ग भएर लामो यात्रा गर्न बाध्य थिए।

जनकपुरधामलाई सिरहा, सप्तरी लगायत हुलाकी राजमार्गका सहर तथा बस्तीहरूसँग जोड्ने यो छोटो दूरीको पुल चाँडो निर्माण गर्न माग गर्दै स्थानीयले पटक-पटक आन्दोलन गर्दै आएका थिए।

कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवका अनुसार अहिले भासिएको ठाउँमा नयाँ पिलर निर्माण गर्नुका साथै केही पिलर थपेर पुल निर्माणलाई अघि बढाइएको छ। यस्तै, भासिएको भागको छाना पुनः ढलान गर्ने काम भइरहेकाले अब भने पुल बन्नेमा स्थानीय आशावादी भएका छन्।

यसअघि स्थानीयले पुल निर्माणका लागि मधेश प्रदेश सरकारसँग पनि पटक-पटक गुहार मागेका थिए। तर, हुलाकी सडक केन्द्र सरकार मातहत पर्ने भएकाले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार बाहिरको विषय भन्दै आलटाल गर्दै आएको थियो।

पुल सञ्चालनमा नआउँदा सर्वसाधारण ज्यान जोखिममा राखेर बाँसको लच्का वा डुङ्गाको सहारामा नदी वारपार गर्न बाध्य थिए। सवारी साधन चल्न नसक्दा आवतजावत ठप्प प्रायः थियो। पुलको पुनर्निर्माण सम्पन्न भएसँगै सिरहा र धनुषाबीचको दूरी निकै छोटिने र आवतजावत सहज हुने विश्वास लिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button