तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पीडित १३ परिवारलाई राहात प्रदान

गुल्मी । इस्मा गाउँपालिकाका वडा नं ४ दोहलीका पहिरो पीडित परिवारलाई राहात प्रदान गरिएको छ । गत असार ६ गते पहिरोका कारण बिस्थापित भएका दोहली रातापानी र खासुगाउँका १३ घर परिवारलाई आज राहात प्रदान गरिएको हो । पहिरो पीडित परिवारलाई इस्मा गाउँपालिकाको तर्फबाट चामल, दाल, तेल नुन र जिरा मसला प्रदान गरिएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पाँच जनासम्मको परिवारलाई २५ किलो चामल, दुई लिटर तेल, दुई किलो दाल, एक किलो नुन र जिरा मसला प्रदान गरिएको छ । भने पाँच जनाभन्दा माथीको परिवारलाई ५० किलो चामल, चार लिटर तेल, चार किलो दाल, दुई किलो नुन र जिरा मसला प्रदान गरिएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी गुल्मीको तर्फबाट प्राप्त त्रिपाल र कम्बल प्रति परिवार एक÷एक थान प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त कम्बल र त्रिपाल नेपाल रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लाल बहादुर कुवंरले गाउँपालिका प्रमुख लक्ष्मण बिष्टलाई प्रदान गर्नुभयो ।

कम्बल र त्रिपाल प्रदान गर्दै कुवंरले अहिले तत्काल मानवीय सेवा र सम्बन्धका कारण सानो सहयोग गरेकाले भोलीका अरु सहयोग सन्दर्भहरुमा रेडक्रस सधै नागरिकहरुको पक्षमा रहेको बताउनुभयो ।

खाद्यान्न, कम्बल र त्रिपाल पीडित परिवारलाई प्रदान गर्दै गाउँपालिका प्रमुख बिष्टले पहिरो पीडित परिवारलाई प्रति परिवार १० हजारको दरले गाउँपालिकाले राहत रकम उपलब्ध गराउने घोषणा समेत गर्नुभयो । उहाँले गाउँ पहिरोको अत्यन्तै जोखिममा भएकाले उपयुक्त स्थानमा जग्गा खोजेर पुर्नवासको व्यावस्था गर्न समेत गाउँपालिकाले प्रत्यत्न गर्ने बताउनुभयो ।

पहिरोले घरगोठमा क्षति पुराउनुका साथै जमिन भासिने र भत्किने भएपछि दुई गाउँका दुई दर्जन घर परिवार बिस्थापित भएका हुन् । उनीहरु जनशक्ति प्रावि र स्थानीयको शरण लिएर बस्न बाध्य भएका छन् । कोरोना संक्रमणसंगै पहिरोका कारण तत्काल घर फर्कने र गएर पनि बस्ने अवस्था नभएकाले साह्रै कष्टपूर्ण रुपमा बसि रहेको पहिरो पीडित मान बहादुर घर्तिले बताउनुभयो । ’कहिलेसम्म अरुको घर र बिद्यालयमा बस्ने निकै मुस्किल प¥यो,’उहाँले भन्नुभयो,‘छिट्टै पुर्नवासको लागि गाउँपालिकाले पहल गरोस् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button