तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व : मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री मेहताले आमा तथा नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निःशुल्क उपचार सेवा र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । 

मन्त्री मेहताले विभिन्न अस्पतालहरूमा आपत्कालीन स्वास्थ्य सेवा ( इ एच यस्) तथा डिजिटल सेवा विस्तार तथा महिला स्वास्थ्य स्वयं सेविकाहरूको सुविधा, सुरक्षा तथा दीर्घकालीन हित सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय भइरहेको पनि जानकारी दिनुभयो । 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुभयो ।

यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरुले संयुक्त राष्ट्रसङको महासभामा जलवायु परिवर्तनबाट नेपालका हिमाली श्रृङखलाहरुमा परेको असर, बढ्दो हिमपहिरो र हिमाली क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने धारणा राख्नुभयो । 

सांसदहरुले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका असर न्यूनीकरण  गर्न जिम्मेवार बनाउन नेपालले संयुक्त राष्ट्रसङको महासभामा जलवायु क्षतिपूर्ति र जलवायु न्यायका पहल अघि बढाउनुपर्नेमा पनि जोड दिनभयो ।

यस्तै जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत र उदार, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था तथा विस्थापित भएकालाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने सांसदहरुले बताउनुभयो । 

बैठकको आकस्मिक समयमा सांसदहरुले महिला हिंसा न्यूनीकरण, किशोरीहरूलाई लक्षित साइबर बुलिङ रोकथाम र सबै प्रदेशमा सुरक्षित मातृत्वका लागि आवश्यक नीतिगत सुधार गर्न माग गर्नुभयो ।

सांसदहरुले रोजगारी सिर्जना, सीमा क्षेत्रको सुरक्षा बढाउन, महँगी नियन्त्रण, किसानका उत्पादनको सहज बजारीकरण, मधेश प्रदेशमा आधारभूत सेवा विस्तार र दलित बालबालिकाको निःशुल्क शिक्षामा पहुँचको प्रभावकारी अनुगमन लगायत विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक पर्सि असोज २ गते शक्रबार अपराह्न १:१५ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button