बैतडीमा समयमा काम नगर्ने १० निर्माण कम्पनीको ठेक्का रद्द
बैतडी। सडक डिभिजन कार्यालय बैतडीले तोकिएको म्यादभित्र काम सम्पन्न नगर्ने १० वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै महाकाली, मध्यपहाडी तथा खोडपे–चैनपुरलगायत राजमार्गअन्तर्गतका सडक निर्माण, स्तरोन्नति र मर्मतसम्बन्धी ठेक्का रद्द गरेको डिभिजन प्रमुख किरण सुवेदीले बताउनुभयो।
रद्द गरिएका ठेक्का तथा निर्माण व्यवसायीको विवरणमा अनारखोली–खोडपे–पाटन खण्डअन्तर्गत सडक किनाराका संरचना मर्मतको ठेक्का पाएको न्यू सहारा कन्स्ट्रक्सन, डडेल्धुरा, खोडपे–बित्थड–चैनपुर खण्डको सडक स्तरोन्नति तथा पुनरोत्थानको जयलक्ष्मी निर्माण सेवा, बझाङ र खोडपे–चैनपुर सडक मर्मतको प्रभास कन्स्ट्रक्सन, पाटन बैतडी रहेका छन्। त्यस्तै, बित्थड–चैनपुर खण्डको सडक सतह विशेष मर्मतको ठेक्का पाएको श्री नरेन्द्र निर्माण सेवा, बझाङ, मध्यपहाडी राजमार्गअन्तर्गत सडक सुरक्षा कार्यको कुलगडे निर्माण सेवा, बैतडी, खोडपे–चैनपुर राजमार्गको सडक सुरक्षा कार्यको प्रभास कन्स्ट्रक्सन, सतबाझ–गोकुलेश्वर–दार्चुला राजमार्गको सडक सुरक्षा कार्यको कुलगडे निर्माण सेवा र बित्थड–चैनपुर खण्डको अर्को सडक सतह विशेष मर्मतको ठेक्का पाएको प्रभास कन्स्ट्रक्सनका सम्झौता पनि रद्द गरिएको डिभिजन प्रमुख सुवेदीले बताउनुभयो।
यसैगरी, खोडपे–चैनपुर खण्डको सडक पुनरुत्थान कार्यको ठेक्का पाएको बिग बी एण्ड कम्पनी प्रा।लि।, बैतडी तथा सतबाझ–बैतडी–झुलाघाट र सतबाझ–गोकुलेश्वर खण्डको रियाक्टिभ मर्मतको ठेक्का पाएको रानसैनी निर्माण सेवा, बैतडीसँगको सम्झौता पनि अन्त्य गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) तथा ठेक्का सम्झौतामा रहेको सामान्य सर्त (GCC) बमोजिम सम्झौता अन्त्य गरिएको डिभिजन कार्यालयले जनाएको छ। ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने कार्यालयले जनाएको छ। यस्तै, सम्बन्धित निर्माण व्यवसायीको कार्यसम्पादन जमानत र अग्रिम भुक्तानीबापतको धरौटीसमेत जफत गरिने सूचनामा उल्लेख छ।
कार्यालयले स्वीकार्य रूपमा सम्पन्न भइसकेका कामको वित्तीय फरफारकका लागि सम्बन्धित निर्माण व्यवसायीलाई १५ दिनभित्र सम्पर्क गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआए कार्यालयका प्राविधिकबाट नापजाँच गरी वित्तीय फरफारकको प्रक्रिया अघि बढाइने डिभिजन प्रमुख सुवेदीको भनाइ रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्